• ११ पुस २०८१, बिहिबार

बुटवलमा हुने मेला र प्रदर्शनी ‘बुटवलको ब्राण्ड’

blog

बुटवलमा हुने औद्योगिक व्यापार मेलाको छलफलमा सहभागीहरु ।

छविलाल पाण्डे 

बुटवल, मङ्सिर २५ गते । लुम्बिनी प्रदेशको आर्थिक राजधानी भनिने बुटवलमा हरेक वर्ष औद्योगिक व्यापार मेला तथा प्रदर्शनी आयोजना हुँदै आएको छ । बुटवलमा यो वर्ष पनि पुस ३ देखि १८ गतेसम्म औद्योगिक व्यापार मेला हुने भएको छ । 

बुटवलमा हुँदै आएका यी औद्योगिक व्यापार मेला र प्रदर्शनी बुटवलको ब्राण्ड बनिसकेका छन् । बुटवलको आर्थिक गतिविधि बढाउन यस्ता मेला र प्रदर्शनीले ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । 

मेला सफल बनाउन आयोजक बुटवल उद्योग वाणिज्य सङ्घले राखेको छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सङ्घ संस्थाका प्रतिनिधिहरुले बुटवलको आर्थिक गतिविधि बढाउन मेला सहयोगीमात्रै होइन यस प्रकारका मेला र प्रदर्शनी तथा महोत्सव बुटवलको ब्राण्ड नै बनेको बताएका छन् । 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बुटवलमा हुने मेला आयोजक संस्थाको मात्रै नभएर सिङ्गो बुटवल र रुपन्देही जिल्लाकै प्रतिष्ठासँग जोडिएको बताउनुभयो । 

बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेयले बुटवलमा हुने औद्योगिक व्यापार मेला बुटवल उद्योग वाणिज्य सङ्घको मात्रै नभएर समग्र बुटवलकै भएको बताउँदै यसलाई व्यवस्थित गर्नका लागि बुटवल उपमहानगरपालिकाले संरक्षकत्व प्रदान गरेको बताउनुभयो ।

नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञप्रसाद गैरेले बुटवलको मेलाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने बताउँदै मेला आर्थिक समृद्धिसँग पनि जोडिएकाले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । 

त्यसैगरी नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति प्रजापाल गिरीले बुटवलको मेला आफैँमा एउटा ब्राण्ड बनेको बताउँदै बुटवलमा हुने मेला बुटवल उद्योग वाणिज्य सङ्घको मात्रै नभएर सिङ्गो बुटवलको भएकाले त्यसमा पार्टीको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।  

रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिपिल सापकोटा, रुपन्देही व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उद्योग व्यापार सङ्घ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डे, पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले बुटवलमा हुने मेलाले बुटवलको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने बताउनुभयो । 

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले मेलाको अवलोकनकर्ता बढाउनेगरी योजना बनाउन सुझाव दिँदै पछि समस्या नआउने गरी सुरुमै सचेत हुन आग्रह गर्नुभयो । 

उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उपभोक्तामैत्री व्यवस्थापनमा जोड दिनुभयो । कार्यक्रममा यस क्षेत्रको विभिन्न व्यवसायिक सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो।