• २६ चैत २०८२, बिहिबार

पहुँचका आधारमा योजना छनोट गर्ने परिपाटी अन्त्य गरिँदै

blog

सांसद न्यौपानेलाई माग पत्र पेश गर्दै जनता ।तस्बिर:अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत २६ गते ।तनहुँ क्षेत्र नम्बर २ मा विकास योजना छनोटका लागि नयाँ प्रयोग सुरु गरिएको छ ।

पहुँचवालाको दबाबमा योजना पार्ने परम्परागत परिपाटीलाई अन्त्य गर्न प्रतिनिधिसभा सदस्य ई.श्रीराम न्यौपानेले ‘प्रोजेक्ट बैंक’ को अवधारणा कार्यान्वयनमा ल्याउनुभएको हो ।

नागरिकका वास्तविक आवश्यकता पहिचान गर्न सुरु गरिएको ‘सांसद–जनसंवाद’ कार्यक्रमका क्रममा स्थानीयले सडक पूर्वाधार र रोजगारीलाई मुख्य प्राथमिकतामा राख्न माग गरेका छन् ।

घिरिङ र ऋषिङमा आयोजित संवादमा स्थानीयले पहुँचका आधारमा भन्दा आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका हुन् ।

घिरिङ गाउँपालिकाका निवर्तमान अध्यक्ष रनबहादुर रानाले कृष्णमोटर मार्गको दयनीय अवस्थाले गर्दा सुत्केरी र बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो । “सडककै कारण हाम्रो गाउँको सामाजिक सम्बन्ध समेत टाढिँदै गएको छ,रानाले भन्नुभयो, अब पहुँच होइन, आवश्यकता हेरेर सडक स्तरोन्नति हुनुपर्छ ।”

जनताका माग र लिखित सुझाव बुझ्दै सांसद न्यौपानेले प्राप्त योजनाहरूलाई प्राविधिक रूपमा अध्ययन गरी ‘प्रोजेक्ट बैंक’ मा सूचीकृत गरिने बताउनुभयो ।

“पहुँचवालाको योजना मात्र स्वीकृत हुने शैलीलाई तोड्न यो अभियान थालेको सांसद न्यौपानेले बताउनुभयो । न्यौपानेले भन्नुभयो, “अब हरेक तीन महिनामा पालिकास्तरमा पुगेर जनताका गुनासो सुन्ने र प्रगतिको समीक्षा गर्ने प्रणाली बसालिनेछ ।”

चैत २३ मा घिरिङबाट सुरु भएको यो अभियान म्याग्दे, व्यास, शुक्लागण्डकी र भिमादका विभिन्न वडामा पुगेर चैत २८ गते समापन हुनेछ ।

जनसंवादमा कृषि आधुनिकीकरण, खानेपानी, सिँचाइ र तटबन्धका योजनाहरू स्थानीयले लिखित रूपमा पेश गरेका छन् ।