• ८ पुस २०८१, सोमबार

चिसो छल्न गुइँठाको प्रयोग

blog

गौर समाचारदाता

गौर, मङ्सिर २२ गते । चिसो छल्नका लागि गोबरगुइँठाको  प्रयोग बढ्दै गएको छ । दिनानुदिन बढ्दै गएको चिसोबाट बच्न तथा आगो ताप्न पुनः दाउरा तथा गोबरगुइँठाको प्रयोग बढ्दै गएको हो । 

ग्रामीण भेगका गरिब तथा न्यून आयवर्गले खाना पकाउनका लागि चुुलो बाल्न वैकल्पिक ऊर्जाका रूपमा गोबरगुइँठाको प्रयोग गर्दै आइरहेकोमा अहिले आगो ताप्न माग बढ्दै गएको स्थानीय रामजन्म पण्डितले बताउनुभयो ।

ग्यासमा खाना पकाउँदै आइरहेका कतिपय महिलाले पनि अहिले दाउरा तथा गोबरगुइँठाको प्रयोग गर्नु परेको स्थानीय खोबारी साहले बताउनुभयो । उहाँले सहज रूपले दाउरा पनि नपाउने गरेको तथा दाउरा पाए पनि चर्को मूल्य तिरेर खरिद गर्न समस्या हुने गरेकाले गुइँठाप्रति आकर्षण बढेको बताउनुभयो । गोबरगुइँठाले खाना पकाउने तथा आगो पनि ताप्ने उद्देश्यले गाउँघरका महिला गुइँठा बनाउनमा व्यस्त रहने गरेका छन् । ग्यासमा खाना पकाउँदै आएका महिला अहिले जाडो छल्न गुइँठाले चुलो बाल्न बाध्य भएको स्थानीय मिथलेस देवीले बताइन् ।