गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर २१ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचको परिणामले पार्टीलाई खासै ठलो क्षति नभएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व रक्षामन्त्री समेत रहनुभएका रिजालले भन्नुभयो, “स्थानीय तहको उपनिर्वाचनमा अनुमान गरेभन्दा कम मत प्राप्त भयो, तर आम निर्वाचनमाभन्दा मत बढेको छ ।”
डा. रिजालले भन्नुभयो, “काँग्रेस आफ्नो आधारमा छ, तलको आधार हल्लिएको छैन, उपनिर्वाचनको मत परिणामले पार्टीलाई खासै ठुलो क्षति भएको छैन ।” “हामीले केही स्थान गुमाएका छौँ, तलको आधार हल्लिएको आशङ्का थियो, तर त्यस्तो भएको छैन, तर पनि आधारलाई थप सुदृढ गर्नुपर्छ भन्ने हो” उहाँले भन्नुभयो, “जनआधार थप मजबुद बनाउन पार्टीले थप गृहकार्य गर्न जरुरी छ ।”
डा. रिजालले काँग्रेस–एमाले एकै ठाउँमा भएर नै दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गरेको भन्दै काँग्रेस एमालेको सरकारले सरकारका संयन्त्रलाई कसरी जनताका पक्षमा काम गर्न सकिन्छ भनेर लाग्नुपर्ने बताउनुभयो ।
सहकारी ठगी प्रकरणका बारेमा उहाँले भन्नुभयो, “अरुले ठग्यो मैले पनि ठग्न पाउनुपर्छ भन्ने मान्यता राखेको पाइयो, यो गलत हो । यससम्बन्धी मुद्दाहरु अहिले छानबिनकै क्रममा छन् ।” डा. रिजालले भन्नुभयो, “यो समयमा को दोषी हो, को निर्दोष हो भनेर बाहिर टिकाटिप्पणी गर्न मिल्दैन, यस विषयमा कुनै पनि कुरा बोल्न मिल्दैन ।”
समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले ठुलो उपलब्धि भएको भन्दै उहाँले भन्नुभयो, “संविधानमा राखिएको समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले ठुलो उपलब्धि भएको छ, यसलाई जोगाउनुपर्छ । तर नआउनुपर्ने मान्छे आए र आउनुपर्ने मान्छे आएनन् भन्ने चर्चा छ, यसलाई सम्बोधन हुनुपर्छ” डा. रिजालले भन्नुभयो, “हामीले बनाएको प्रणालीमा कहिँ कतै कमजोरी देखिन्छ, यसलाई सच्याएर समानुपातिक प्रणालीमा देखिएको विकृतिलाई हटाउँदै संविधान संशोधन गर्नुपर्छ ।” समानुपाति सिट ११० बाट घटाएर ६० मा झार्नुपर्ने उहाँको भनाइ थियो ।
संविधान संशोधन गर्दा संघीयताको कार्यान्वयनमा भएका कठिनाइका विषय, स्थानीय सरकार र प्रदेश सरकारलाई हेर्ने संरचनालगायतका विषयमा सम्बोधन हुनुपर्ने उहाँले बताउनुभयो । “केन्द्र सरकारलाई हेर्ने संरचना राष्ट्रिय सतर्कता केन्द्र छ, स्थानीय र प्रदेश सरकारलाई हेर्ने संरचना बनाउनु जरुरी छ, संघीयताको कार्यान्वयनमा भएका कठिनाइका विषयलाई सम्बोधन गर्नुपर्छ” डा. रिजालले भन्नुभयो, “राजनीति क्षेत्रभन्दा बाहिरको विज्ञ क्षेत्रबाट यस विषयमा गहन छलफलपछि मात्र राजनीति क्षेत्रमा यस विषयको छलफल गर्नुपर्छ, सम्पूर्ण पक्षसँग यथेष्ट सहमति निर्माण गरिसकेपछि आवश्यक बुँदामा संविधान संशोधन गर्नुपर्छ ।”
सरकार ढल्ने र ढाल्ने खेल हुन्छ कि हुन्न भन्ने प्रश्नको एक प्रसङ्गमा डा. रिजालले भन्नुभयो, “अहिलेको सरकारका बारेमा काँग्रेसको कुनै गलत नियत छैन, नियतमा खोट छैन, प्रधानमन्त्री ओलीले पनि हामीलाई धोका दिने कुनै कारण छैन ।” उहाँले भन्नुभयो, “हामीले पनि उहाँलाई धोका दिनुपर्ने कुनै कारण छैन, सहमतिकै आधारमा यो सरकार अघि बढ्छ ।”
जनताका आशालाई जागृत गर्न नसकेको, जनताका निराशा चिर्न नसकेको, स्वस्थ खालको राजनीतिक बहस हुन नसकेको भन्दै उहाँले काँग्रेस–एमालेको सरकारले तमाम विषयमा जनताका समस्याहरु हल गरी देखिनेगरी काम गर्नुपर्ने बताउनुभयो ।