• २९ असार २०८२, आइतबार

सेयर सदस्यबिना ग्रामीणको साधारण सभा

blog

कार्यक्रम स्थलमा विरोध प्रदर्शनमा उत्रिएका सेयर सदस्य तथा कर्मचारी सङ्गठनका पदाधिकारी । तस्बिर : कपिल ज्ञवाली

सिद्धार्थनगर समाचारदाता

सिद्धार्थनगर, असार २९ गते । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सुरक्षा घेरामा साधारण सभा सम्पन्न गरेको छ । कर्मचारीको विरोध हुँदाहुँदै सेयर सदस्यलाई नै सहभागी नगराई शनिबार बुटवलमा १० औँ वार्षिक साधारण सभा गरेको हो । 

बुटवल मिलनचोकस्थित होटेल पाल्म इन्टरनेसनलको पाँचौँ तलामा प्रहरी तैनाथ गरी अत्यन्त कम सङ्ख्याका निश्चित सेयर सदस्य सहभागी गराएर साधारण सभा गरिएपछि सेयर सदस्य विरोधमा उत्रिए । साधारण सभामा करिब एक सय जनाका लागि कुर्ची राखिएको भए पनि सञ्चालक समिति सदस्य र केही सेयर सदस्य मात्रै सहभागी थिए । 

सञ्चालक समितिका अध्यक्ष भरतराज कोइराला र कम्पनी सचिव समेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालको मिलेमतोमा औपचारिकताका लागि मात्रै साधारण सभा गरेको कर्मचारी सङ्गठनको आरोप छ । 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र लुइटेलले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले समाज लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रस्ताव पारित गर्नका लागि सेयर सदस्यलाई सहभागी नै नगराई अवैध रूपमा साधारण सभा गरेको बताउनुभयो । 

कर्मचारी सङ्गठनले कार्यक्रम स्थलमा कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए । कर्मचारीमध्येका सेयर सदस्यलाई प्रवेशमा प्रहरीले पूर्ण रोक लगाएको थियो । सर्वसाधारणतर्फका सेयर सदस्यलाई सूचनासमेत नगरी ढोका थुनेर आफू अनुकूलको निर्णय गर्न साधारण सभा गरिएको सेयर सदस्य लीलामाया थापाले बताउनुभयो । उहाँले आफूले गरेको लगानी फिर्ता गर्नुपर्ने माग राख्नुभयो । 

प्रमुख कार्यकारी अधिकृत कटुवालले आफ्नो कार्यकाल लम्ब्याउन र केहीलाई जागिर दिनका लागि कमजोर वित्तीय अवस्था रहेको संस्थासँग मर्जर गर्न लागेको केन्द्रीय उपाध्यक्ष विष्णु पङ्गेनीले बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत कटुवालले भने कर्मचारीको विरोधका कारण प्रहरीलाई सुरक्षाका लागि खबर गरेको बताउनुभयो । उहाँले साधारण सभा विधिसम्मत भएको दाबी गर्दै सेयर सदस्यलाई नरोकेको बताउनुभयो । 

ग्रामीण लघुवित्त वित्तीय संस्थामा सरकारसहित विभिन्न सङ्घ संस्थाको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर रहेको छ । जसको ९८ लाख २५ हजार कित्ता सेयर रहेको छ । साधारण सभाको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई कार्यक्रम अवधिभर प्रवेशमा रोक लगाइएको थियो ।