• १९ असार २०८१, बुधबार

नागरिकता विधेयक दलीय सहमतिमा संसदमा पेस गर्ने तयारी

blog

काठमाडौं, जेठ ५ गते । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । 

अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा बिहीबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ । भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिनुभयो । ‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,’ गृहमन्त्री खाणले भन्नुभयो । 

अध्यक्ष प्रचण्ड, गृहमन्त्री खाण र कानुनमन्त्री शर्माबीच छलफल

प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ । गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्नुभएको छ । 

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गर्नुभएको हो ।