• ७ पुस २०८१, आइतबार

उत्कृष्ट ‘प्लेटफर्म’ एनपिएल

blog

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिगको पहिलो संस्करण आज सुरु हुँदै छ । प्रतियोगितामा सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते पहिलो च्याम्पियनको छिनोफानो हुने छ । एनपिएलले सुरु हुनुअघि नै विश्वव्यापी चर्चा पाइसकेको छ । 

सन् २००७ मा भारतमा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भएलगत्तै अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा क्यारेबियन लिग, इङ्ग्ल्यान्डमा दी हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्का प्रिमियर लिग हुँदै आएका छन् । 

नेपालमा पनि सोही अवधारणाबाट प्रभावित भएर प्रतियोगिता आयोजना गरेको क्यानले एनपिएललाई भव्य बनाउन तयारीमा कुनै कमी गरेको छैन । करोडौँको लगानी, विश्वस्तरीय विदेशी क्रिकेटरको ठुलो सङ्ख्या, स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण, प्रतियोगिता हुने स्थान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका साथ नेपालमा क्रिकेटको ‘क्रेज’ ले गर्दा एनपिएलले व्यापक चर्चा पाएको छ ।

क्यानका सचिव पारस खड्काका अनुसार एनपिएलको घोषणा गर्दा यति बृहत् रूपमा हुन्छ भन्ने अपेक्षा थिएन । उहाँ भन्नुहुन्छ, “क्यान यी सब नेपाली क्रिकेटको विकास र क्रिकेटरहरूको उज्ज्वल भविष्यका लागि गरिरहेको छ । यसको प्रमुख उद्देश्य घरेलु क्रिकेटरलाई स्टार विदेशी खेलाडीसहितको ठुलो प्रतियोगिताको अनुभव दिलाउने नै हो । हामी नेपाली क्रिकेटरले एनपिएलबाट अन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ पाओस् भन्ने चाहन्छौँ ।”

नेपाली टोलीका पूर्वकप्तानसमेत रहनुभएका खड्का ठुला विदेशी खेलाडीको सहभागिताबाट  नेपाली क्रिकेटरले धेरै कुरा सिक्ने पनि बताउनुहुन्छ । ‘ड्रेसिङ रूममा धेरै अनुभव साट्न सकिन्छ । एउटै टिमले पाँच, छ विदेशी खेलाडी अनुबन्ध गरेको छ । विदेशी खेलाडीसँगको सामीप्यले घरेलु खेलाडीलाई व्यावसायिक सम्बन्ध बनाउने वातावरण प्राप्त हुन्छ । घरेलु क्रिकेटरहरूको मनोबल बढ्छ । नेपालका अन्तर्राष्ट्रिय खेलाडीहरू यहाँबाट पाएको ‘एक्सपोजर’ ले थप सकारात्मक भएर अन्तर्राष्ट्रिय खेल खेल्न सक्छन् ।’’

एनपिएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स जोडिएका छन् । हरेक टोलीमा कम्तीमा चार र बढीमा छ विदेशी खेलाडी आबद्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म १६ देशका ४० विदेशी खेलाडी एनपिएलमा आबद्ध भइसकेका छन् । जसमध्ये भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल, जिमी निसम, स्कट कुगलेन, इङ्ग्ल्यान्डका रवि बोपारा, अस्ट्रेलियाका बेन कटिङ, वेस्ट इन्डिजका चाड्विक वाल्टन चर्चित खेलाडी हुनुहुन्छ ।  

विदेशी क्रिकेटरहरूसँगको सम्झौता रकमबारे खासै खुलाइएको छैन तर नेपाली क्रिकेटरहरूले एपिएलबाट अहिलेसम्मकै सबभन्दा ठुलो रकम प्राप्त गरेका छन् । 

प्रत्येक टिमका ‘मार्की’ खेलाडीले जनही २० लाख रुपियाँ प्राप्त गरेका छन् । यसै गरी अन्य घरेलु खेलाडीले अधिकतम १५ लाखदेखि न्यूनतम दुई लाख रुपियाँसम्म पाएका छन् । प्रतिभा खोजबाट छानिएका ‘आइकोनिक’ खेलाडीलाई पनि राम्रो रकम दिइएको छ । करिब एक महिनाको प्रतियोगितामा खेलाडीहरूका लागि यो निकै राम्रो रकम मान्न सकिन्छ ।

सबै टोलीले न्यूनतम पनि सात, आठ करोड खर्च गर्ने अपेक्षा गरिएको छ । यी टिमले अहिले नै ‘फ्रेन्चाई’ अधिकार प्राप्त गर्न, विदेशी र स्वदेशी खेलाडीलाई आआफ्नो टिममा भित्र्याउन मात्र होइन, एनपिएलको माहोल बनाउन प्रचारप्रसारमा पनि ठुलो रकम खर्च गरिसकेका छन् । क्यानले सुरुवातमै फ्रेन्चाई टिमहरूबाट करिब १७ करोड आम्दानी गरिसकेको थियो । त्यसपछि एनपिएलको प्रमुख प्रायोजकमा सिद्धार्थ बैङ्कसँगको रकम खुलासा नगरे पनि कीर्तिमानी रकममा जोडिएको चर्चा छ । 

एनपिएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएपछि यसले अझ व्यापकता पाउने छ । सचिव खड्का पनि नेपाली क्रिकेट र क्रिकेटरका लागि यो ठुलो फड्को हुने दाबी गर्नुहुन्छ । “नेपाली खेलाडीहरूको खेल विश्वले देख्ने छ । जसले गर्दा उनीहरू विश्वमा हुने अन्य फ्रेन्चाइज टिमको नजरमा पर्न सक्नेछन्,” उहाँ भन्नुहुन्छ । 

स्टार स्पोर्ट्समा प्रसारण हुने भएकाले टेलिजिभनमा एनपिएल प्राविधिक रूपमा अहिलेसम्मकै उत्कृष्ट त हुने नै छ, यसबाहेक त्रिवि रङ्गशालामा पनि उच्चतम प्रविधिहरू प्रयोग गरिने छ । जसमध्ये डिआरएस प्रणाली, डिजिटल स्कोरबोर्डले नेपाली क्रिकेटलाई नयाँपन दिने छ । यसै गरी स्टार स्पोर्ट्सबाट विश्वव्यापी बनेपछि एनपिएलबाट खेल पर्यटनमै पनि ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।