• १२ मंसिर २०८१, बुधबार

बजार कुर्दै नरहरिनाथको घिउ

blog

नरहरिनाथ गाउँपालिकाका किसानले जम्मा गरेको घिउ । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिंखडा

कालीकोट, मङ्सिर १२ गते । कालीकोट जिल्लाको नरहरिनाथ–७, मालकोटका ६० वर्षीय रत्नबहादुर बटालाको भैँसीपालन पुख्र्यौली पेसा हो । उहाँका अहिले सात वटा भैँसी छन् । लैना भैँसीबाट उत्पादन गरेको दुध, दही र घिउले भने बजार पाउन सकेको छैन । यो समस्या उहाँको मात्र होइन ।

नरहरिनाथ गाउँपालिका घिउ उत्पादनका हिसाबले राम्रो क्षेत्र भएकाले यहाँका प्रायः घरधुरीले भैँसी पाल्ने चलन अहिले पनि कायमै छ । अधिकांश परिवारमा दुई वटा भैँसी छन् तर उत्पादन हुने घिउले बजार नपाउँदा यहाँका किसान समस्यामा छन् । 

उत्पादित घिउले भने जस्तो बजार नपाउँदा रत्नबहादुर निराश हुनुहुन्छ । पहिलाको जस्तो बर्दियाको राजापुर, कैलालीको चिसापानी लगेर घिउ बेच्नुपर्ने बाध्यता भने हटेको बटालाको भनाइ छ । 

बटाला जस्तै वडा नं. ५ रुप्साका मनवीर सहकारीका गोठमा छ वटा भैँसी छन् । परापूर्व कालदेखि भैँसीपालन गरिरहनुभएका सहकारीको घरमा दैनिक १२ लिटर दुध उत्पादन हुन्छ तर बजारकै समस्याका कारण दुध बिक्री हुन सकेको छैन । दुध जमाएर मोही पार्ने र घिउ जम्मा गर्ने गरिरहनुभएको छ । 

सहकारीले घिउको मूल्य बढे पनि बजारको अभाव भने हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला राजापुरमा लगेर घिउ बेच्नुपर्ने हुन्थ्यो । अहिले केही कर्मचारी यतै गाउँमा आएका बेला घिउ किन्नुहुन्छ तर केही घिउ घरमै रहने गरेको छ ।” गाउँमा प्रशस्त घाँस पाइने र चरन क्षेत्र पनि धेरै राम्रो भएकाले नरहरिनाथ गाउँपालिकाका अधिकांश स्थानीयले भैँसी पाल्ने गर्छन् तर दुग्धजन्य पदार्थ बिक्रीमा समस्या छ । बजार अभावमा स्थानीयले उत्पादन गरेको घिउ घरमै थन्किने गरेको छ । 

स्थानीय अमर बटालाका अनुसार दुध नबिकेपछि घिउ बनाउनुको विकल्प छैन । त्यो बेच्न पनि तीन/चार घण्टा हिँडेर स्थानीय बजार पुग्नु पर्छ । त्यहाँ नबिके घर घर डुल्नुपर्ने बाध्यता छ । 

गाउँसम्म सडक सुविधा भए पनि गाडी कमै मात्र चल्ने गरेका छन् । अहिले नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा ल्याएको घिउसमेत बिक्री हुन नसकेको गुनासो किसानको छ । प्रतिकिलो सात सय रुपियाँ पर्ने भएकाले जो कोहीले घिउ किन्दैनन् । व्यापारीले झन् सस्तोमा खरिद गर्न खोज्ने भएकाले घिउ घरमै थन्किने गरेको छ । 

रेडक्रस कुमालागाउँ शाखा सभापति रामबहादुर बटालाले सदरमुकाम मान्ममा प्रतिलिटर ६० रुपियाँमा दुध बिक्री हुने गरे पनि गाउँमा दुध खपत नहुने हुँदा किसान समस्यामा रहेको बताउनुभयो ।