• २३ पुस २०८१, मङ्गलबार

गाउँमा उत्पादन भएकाे घिउले बजार पाएन

blog

नरहरिनाथका किसानले जम्मा गरेको घिउ । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा  

कालीकोट, मङ्सिर ११ गते । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका घिउ उत्पादनका हिसाबले राम्रो क्षेत्र हो । यहाँका प्रायः घरमा भैँसी पाल्ने चलन अहिले पनि कायमै छ । 

भैँसीको दुधबाट उत्पादन हुने घिउले बजार नपाउँदा किसान समस्यामा छन् । नरहरिनाथ ७ मालकोटका ६० वर्षीय रत्नबहादुर बटालाको भैंसीपालन पुर्ख्याैली पेशा हो । उहाँको अहिले सातवटा भैंसी छन्। लैना भैँसीबाट उत्पादन गरेको दुध, दही र घिउले भने  बजार पाउन सकेको छैन । 

उत्पादित घिउले भने जस्तो बजार नपाउँदा बटाला निराश हुनुहुन्छ । पहिलाको जस्तो बर्दियाको राजापुर, कैलालीको चिसापानी लिएर घिउ बिक्री गर्नुपर्ने बाध्यता भने हटेको बटालाको भनाइ छ । बटाला जस्तै वडा नं ५ रुप्साका मनवीर सहकारीका गोठमा ६ वटा भैंसी छन् । परापूर्वकालदेखि भैंसीपालन गरिरहनुभएका सहकारीको घरमा दैनिक १२ लिटर दुध उत्पादन हुन्छ, तर बजारकै समस्याका कारण दुध बिक्री गर्न हुन सकेको छैन । दुध जमाएर मोही पार्ने र घिउ जम्मा गर्ने गरिरहनुभएको छ । 

सहकारीले पहिला जस्तो सस्तो घिउ नभएको मूल्य बढे पनि बजारको अभाव भने हुँदै आएको बताउनुभयो । पहिला राजापुरमा लिएर घिउ बेच्नुपर्ने हुन्थ्यो, अहिले केही कर्मचारी यतै गाउँमा आएका बेला घिउ किन्नुहुन्छ, तर केही घिउ घरमै रहने गरेको छ । गाउँमा प्रशस्त घाँस पाइने र चरन क्षेत्र पनि धेरै राम्रो भएकाले नरहरिनाथ गाउँपालिकाका अधिकांश स्थानीयले भैंसी पाल्ने गर्दछन् । तर दुग्धजन्य पदार्थ बिक्रीमा समस्या छ । बजार अभावमा स्थानीयले उत्पादन गरेको घिउ घरमै थन्किने गरेको छ । 

स्थानीय अमर बटालाका अनुसार दुध बिक्री नभएपछि त्यसको घिउ बनाउँदै आएका छौं । घिउ बिक्री गर्न पनि तीन÷चार घण्टा हिँडेर स्थानीय बजार पुग्नुपर्छ, उहाँले भन्नुभयो बिक्रीका लागि घरघर डुल्नुपर्ने बाध्यता छ । कतिपय बेला गाउँमै खोजी हुन्छ तर भने जस्तो मूल्य नपाउने हुनाले बिक्री गदैनौँ । अधिकांश परिवारमा दुई वटा भैंसी छन् । गाउँसम्म सडक सुविधा भए पनि गाडी कमै मात्र चल्ने गरेका छन् । अहिले नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा ल्याएको घिउ बिक्री हुन सकेको छैन । प्रतिकिलो सात सय रुपियाँ पर्ने भएकाले जो कोहीले घिउ किन्दैनन् ।व्यापारीले झन सस्तोमा खरिद गर्न खोज्ने भएकाले घिउ घरमै थन्किने गरेको छ । 

रेडक्रस कुमालागाउँ शाखा सभापति रामबहादुर वटालाले सदरमुकाम मान्ममा प्रतिलिटर ६० रूपैयाँमा दुध बिक्री हुने गरे पनि यहाँ गाउँमा दुध खपत नहुने हुँदा किसान समस्यामा रहेको बताउनुभयो । प्रायः गाउँमा सबैका लैना (दुध दिने) भैँसी छन, कसले किनिदिनु त्यसैले पनि घिउ बनाउनुको विकल्प नभएको बटालाको भनाइ छ । हामीसँग घिउ बनाउनेबाहेक अन्य कुनै सीप छैन, उहाँले भन्नुभयो, आवश्यक तालिम र उपकरणमा कसैले सहयोग गरे दुग्धजन्य उत्पादनलाई नै व्यवसाय बनाउन सकिन्थ्यो । 

बटालाले गाउँमा एउटा भैंसीको मूल्य ५० हजारदेखि ७० हजार रूपियाँसम्म पर्छ, तर एउटा भैंसीको दुधबाट वर्षमा ३० किलोसम्म घिउ उत्पादन हुन्छ त्यसैले भैँसीको लगानी डुब्ने गरेको किसानको गुनासो छ । सरकारले किसानका लागि अनुदानको व्यवस्था नगर्दा खास किसान मर्कामा पर्दै आएका छन । कृषि विकास कार्यालय, पशु सेवा कार्यालयले खास किसानभन्दा पनि पहुँचवालालाई अनुदान दिने चलन अहिले पनि जारी छ ।