• २३ पुस २०८१, मङ्गलबार

दिवा खाजामा अनियमितता

blog

रास्कोट नगरपालिकाको कार्यालय ।

कालीकोट समाचारदाता

कालीकोट, मङ्सिर ११ गते । सरकारले आधारभूत विद्यालयमा अध्ययन गर्ने ससाना बालबालिकालाई नियमित विद्यालय ल्याउन सहयोग पु¥याउने उद्देश्यले दिँदै आएको दिवा खाजामा कालीकोटको रास्कोट नगरपालिकाले चलखेल गरेको कुरा बाहिर आएको छ । प्रतिविद्यार्थी २५ रुपियाँका दरले पाउने दिवा खाजाबापतको रकम एकमुष्ट आफन्तलाई दिएर बजारको तयारी खाजा रास्कोटका सरकारी विद्यालयमा वितरण गरिएको छ ।

स्थानीय उत्पादनको राम्रो सम्भावना भएको रास्कोट नगरका बासिन्दाले उत्पादन गरेको खाद्यान्न प्रयोग गर्नुको सट्टा बजारको एक खाद्य कम्पनीमार्फत दिवा खाजा ढुवानी हुन थालेपछि नगरपालिकाको मनपरी बाहिर आएको हो । रास्कोट नगरपालिका–६ का महेश फर्सालले आफन्तलाई खाजाको ठेक्का दिएर स्थानीय किसानलाई पीडित बनाएको गुनासो भइरहेको छ । नगरप्रमुख धर्मराज शाहीका द्वन्द्वकालका साथी कैलालीका गजेन्द्र स्वाँरलाई रास्कोटका सामुदायिक विद्यालयले पाउने दिवा खाजाको ठेक्का दिएर यहाँका विद्यार्थी र अभिभावकमाथि अन्याय गरेको फर्सालको आरोप छ । 

एक विद्यालयका प्रधानाध्यापका अनुसार एकाएक विद्यालयमा तीन लाख ५० हजारको बिलसहित दिवा खाजाका बोरा पठाइएको छ । थप यसबारे बुझ्दै जाँदा नगरप्रमुख शाहीका आफन्तलाई नगरपालिकाको शिक्षा शाखाले दिवा खाजा खरिदको ठेक्का दिएको रहेछ । सो व्यक्तिले समान खरिद गरेर सबै विद्यालय पु¥याउने गरेको उहाँले बताउनुभयो । शिक्षा समितिमा प्रस्ताव लैजानेदेखि निर्णय गराउनेसम्म शिक्षा शाखा प्रमुख खेमराज शाहीको भूमिका रहेको बताइएको छ । निर्णय शिक्षा समितिमा गराउने, सामान खरिद गर्न शिक्षा शाखा प्रमुख शाहीले गराउने र भुक्तानी दिँदा विद्यालयलाई जिम्मा दिने निकै चलाखीपूर्ण तरिका अपनाएको देखिन्छ । रास्कोटका स्थानीयवासीसमेत रहेका कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले स्थानीय उत्पादनलाई महìव दिनुको सट्टा बाहिरबाट खरिद गरेर दिवाखाजा खुवाउनु उचित नभएको बताउनुभयो । 

विराटनगरको उद्योगलाई कालीकोटको रास्कोटमा दिवा खाजा आपूर्ति गर्न लगाउनुले आशङ्का उब्जिएको उहाँले बताउनुभयो । यता रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले ठेक्काभन्दा पनि कोटेसनमार्फत सामान खरिद गरिएको होला भन्दै अनभिज्ञता प्रकट गर्नुभयो । उहाँले सबै कुराको जानकारी शिक्षा शाखा प्रमुख खेमराज शाही र सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई हुने बताउनुभयो । शिक्षा शाखा प्रमुख खेमराज शाहीले भने यसबारे सूचना दिन अस्वीकार गर्नुभयो । दिवा खाजा खरिदका लागि कोटेसन आह्वान गरेको सूचनासमेत प्रकाशित भएको छैन । आन्तरिक सल्लाहमा तीन वटा कोटेसन जम्मा गर्न लगाएर खरिदको जिम्मा नेपाल स्वास्थ्य फुड इन्डस्ट्रिज प्रालि मोरङलाई दिइएको छ । दिवा खाजा खरिदका लागि सम्बन्धित पालिका, विद्यालय र आमा समूहले खरिद गर्ने मात्रा पु¥याउने र स्थानीय उत्पादनको प्रयोग गर्ने निर्देशिकामा उल्लेख छ । 

नगरप्रमुख शाह र शिक्षा शाखा प्रमुख शाहीद्वयको मिलेमतोमा शिक्षा समितिमा प्रस्ताव लिएर आधिकारिक रूपमा समितिको मिति २०८१ असोज २२ गते बसेको बैठकको निर्णयमा नेपाल स्वास्थ्य फुड इन्डस्ट्रिज प्रालिलाई खाजा आपूर्तिको जिम्मा दिने उल्लेख छ । सुरुमा तीन महिनाका लागि परीक्षण गर्ने भनिए पनि छ महिनासम्मका लागि खाजा पठाइएको र बिल पठाउने काम भइरहेको छ । सुरुमा ४५० रुपियाँ मूल्य पर्ने भनिए पनि अहिले मूल्य बढेको भन्दै ४९० रुपियाँ प्रतिकेजी पर्ने भनी बिलमा उल्लेख गरिएको विद्यालयको गुनासो छ ।