• ११ पुस २०८१, बिहिबार

महानगरले हटाउन सकेन काउन्टर

blog

काठमाडौँ, मङ्सिर ९ गते । काठमाडौँ महानगरले नयाँ बसपार्कभन्दा बाहिर रहेका लामो तथा छोटो दुरीका बसको टिकट काउन्टर हटाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले निर्णय कार्यान्वयन गर्न पटक पटक प्रयास गरे पनि व्यवसायीले अटेर गरेपछि कार्यान्वयन हुन नसकेको हो । 

महानगरले २०८० भदौमा काउन्टर हटाउने निर्णय गरेको थियो । एक वर्षपछि २०८१ साउन १ गतेबाट हटाउने सूचना सार्वजनिक गर्दै तयारी गरेको थियो । यातायात व्यवसायी र महानगरबिच सहमति भएर साउन २० गतेसम्म समय थप गरिएको थियो । उक्त समय थपिएपछि भने हालसम्म कुनै पहल भएको छैन ।  महानगरले जथाभाबी राखिएका टिकट काउन्टरले सडक पेटी र पैदलयात्रीलाई असहज हुनुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै निश्चित स्थानबाट टिकट काट्न, कटाउन अनुरोध पनि गरेको छ । महानगरपालिकाले टिकट काउन्टर सम्बन्धित वडामा दर्ता भई सञ्चालन गर्नुपर्ने सूचना पनि गत वर्ष जारी गरेको थियो । 

काउन्टर हटाउने काम भइरहेको महानगरले जनाएको छ । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले भन्नुभयो, “काम भइरहेको छ । अधिंकाश स्थानमा हटेको पनि छ तर फेरि लुकीछिपी टिकट काट्ने काम भइरहेको सूचना आउने गरेको छ । प्रयत्न गरिरहेका छौँ ।”  

आफ्नो सवारीसाधन नभएकाले काउन्टर खोलेर अरूको गाडीमा यात्रु भरेर कमिसन लिने गिरोहले समस्या पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष विजय स्वाँरले भन्नुभयो, “बसपार्क बाहिरका टिकट काउन्टर हटाउनु पर्छ । यसले अव्यवस्थित बनाएको छ । खासै आवश्यकता पनि छैन । टिकटका लागि अहिले अनलाइन सुविधा छ । हामी प्रविधिलाई प्रयोग गरेर जानु पर्छ ।” 

काठमाडौँ महामनगरले काउन्टर दर्ताका लागि विभिन्न नौ वटा मापदण्ड तोकेको थियो । काउन्टर महानगरमा दर्ता हुनुपर्ने, बुकिङ कार्यालयको मुख्य कार्यालय गोङ्गबु बसपार्कमा अनिवार्य हुनुपर्ने, काउन्टर सडक चोकको एक सय मिटर पर हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगन्ज र बाफलसम्म काउन्टर खोल्न नपाइने मापदण्ड पनि तोकेको छ । 

त्यस्तै काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीलाई नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्ने महानगरपालिकाले निर्णय गरेको थियो । उक्त निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । 

महानगरले २०८० जेठ मा सूचना प्रकाशित गरी नयाँ बसपार्कभन्दा बाहिरबाट सञ्चालन हुँदै आएका सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । महानगरपालिकाका नगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डेले भन्नुभयो, “निर्णय कार्यान्वयनको प्रयास भएको छ । केही स्थानका सार्वजनिक सवारी नयाँ बसपार्कबाट सञ्चालन हुन थालेका छन् तर व्यवसायीबाट त्यति सहयोग भएको छैन ।” 

काठमाडौँको गौशाला, चाबहिल, बालाजु, पेप्सीकोला, जडीबुटी, मनोहरा कोरिडोर, कोटेश्वर, तिलगङ्गा, बागमती कोरिडोर, जोरपाटी, धोबीखोला कोरिडोर, गोङ्गबु, बल्खु, विष्णुमती कोरिडोर, माछापोखरी, स्वयम्भू, कलङ्कीलगायतका स्थानबाट सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।