• ७ मंसिर २०८१, शुक्रबार

उपनिर्वाचनकेन्द्रित प्रचारप्रसार तीव्र

blog

नलगाड नगरपालिकाको उपप्रमुखको उपनिर्वाचनमा प्रचारमा लागेका नेता तथा कार्यकर्ता । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता

जाजरकोट, मङ्सिर ४ गते । यही मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनमा जाजरकोटमा केन्द्रदेखि जिल्ला स्तरका नेता कार्यकर्ता केन्द्रित भएका छन् । नलगाड नगरपालिकाको उपनिर्वाचनमा पार्टीका नेता तथा कार्यकर्ता जिल्ला आएर प्रचारप्रसारमा लागेका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छ दलले मनोनयन दर्ता गरेपछि चुनावको सरगर्मी बढेको छ । नेपाली कांग्रेसको तर्फबाट इन्द्राचन्द सिंह, नेकपा एमालेका तर्फबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रको तर्फबाट देवका लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्वती पुन, नेपाल समाजवादी पाटीका तर्फबाट पवित्रा जैसीको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेपाली कांग्रेका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रका पूर्ववनमन्त्री शक्तिबहादुर बस्नेत, नेकपा एमालेका पूर्वराष्ट्रिय सभाका सदस्य भैरवसुन्दर श्रेष्ठलगायतका केन्द्रीय नेता नलगाड नगरपालिकाको उपनिर्वाचनमा केन्द्रित हुनुभएको छ । नेपाली कांग्रेसको तर्फबाट उपप्रमुख पदका उम्मेदवार इन्द्राचन्द सिंहले २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुनुभएकी उपप्रमुख स्वर्गीय सरिता सिंहको भूकम्पमा परी मृत्यु भएपछि रिक्त रहेको उपप्रमुखमा उहाँले जनतासँग गरेका अधुरा प्रतिबद्धता पूरा गर्न उम्मेदवारी दिएको बताउनुभयो । करिब १२ वर्ष नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बाल विकासमा अध्यापन गराउनुभएकी ३३ वर्षीय सिंहले नातेदार स्व. सिंहले जनतासँग गरेका वाचा पूरा गर्न चुनावमा होमिएको जनाउनुभयो । 

यस्तै नेकपा माओवादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार देवका लामिछाने जनयुद्धमा लाग्नुभएको थियो भने नेकपा एमालेबाट उम्मेदवार बोहराको उम्मेदवारी उपप्रमुखमा तेस्रो पटक हो । नेपाली कांग्रेसको तर्फबाट पीडित परिवारको तर्फबाट सिंहको भाइबुहारी इन्द्रा उम्मेदवार बन्नुभएको छ । 

गत वर्ष कात्तिक १७ गते बारेकोट गाउँपालिका–१, रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी सिंहको मृत्यु भएपछि रिक्त रहेको नलगाड नगरपालिकाको उपप्रमुख पदमा निर्वाचन हुन लागेको हो । त्यसै गरी कुशे गाउँपालिका–७ को वडाध्यक्षका लागि चार जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट खम्बहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली, नेकपा एमालेबाट डम्बरबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबहादुर खत्रीले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताउनुभयो । २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मुनबहादुर घर्तीको मृत्यु भएपछि रिक्त रहेको वडाध्यक्षमा निर्वाचन हुन लागेको हो ।