• ११ माघ २०८१, शुक्रबार

सिंहदरबारभित्र बाह्र अर्बभन्दा बढीको निर्माण

blog

सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवन । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर ४ गते । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र करिब १२ अर्ब ३१ करोड ४१ लाख रुपियाँको लागतमा चार वटा भवन निर्माणको काम द्रुत गतिमा भइरहेको छ । यहाँ मुलुकको सर्वोच्च जनप्रतिनिधि संस्था सङ्घीय संसद्को भवन, सर्वोच्च अदालत, गृह मन्त्रालय र नेपाली सेनाको चण्डीदल गणको प्रयोजनका लागि भवन निर्माण भइरहेका छन् । सिंहदरबारभित्रै नियम कानुन बनाउने संसद्कै भवन निर्माण ठेक्काको म्याद चार पटक थपिँदा पनि कार्य सम्पन्न हुन सकेको छैन ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको व्यवस्थापनमा संसद् भवन र चण्डीदल गणको भवन निर्माण भइरहेको छ । त्यसै गरी सर्वोच्च अदालतको भवन सर्वोच्च अदालत अन्तर्गतकै भौतिक शाखाको व्यवस्थापनमा निर्माण भइरहेको छ भने सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सिंहदरबारको व्यवस्थापनमा गृह मन्त्रालयको भवन निर्माण भइरहेको छ ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रवक्ता ई. रञ्जनकुमार दासले सङ्घीय संसद् भवनको अहिलेसम्मको भौतिक प्रगति ८२ प्रतिशत र वित्तीय प्रगति ७३.०४ प्रतिशत पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको केन्द्रीय लबीबाहेक ११ वटा ब्लकको छाना छाउने, स्ट्रक्चर र इँटको गारो लगाउने काम सम्पन्न भइसकेको छ ।

राष्ट्रिय महत्वको यो भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सुरुको सम्झौताबमोजिम २०७९ असोज १५ गतेसम्म यो भवनको सम्पूर्ण काम सम्पन्न हुनुपथ्र्यो तर अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । यस आयोजनाको चार पटक म्याद थप गरिसकिएको छ । थप गरिएको अन्तिम म्यादको अवधि २०८१ चैत १८ गतेसम्म रहेको छ । चौथो पटक थप गरिएको अवधिमा समेत काम सम्पन्न हुने छाँटकाँट देखिएको छैन । कुल छ अर्ब ३० करोड रुपियाँको लागतमा निर्माण भइरहेको यस आयोजनाको ठेक्का टुन्डी/सेक (संयुक्त) ले पाएका छन् ।

बहत्तर प्रतिशत काम सम्पन्न

सिंहदरबार परिसरभित्र निर्माणाधीन सर्वोच्च अदालत भवनको ७२ प्रतिशत काम सम्पन्न भएको छ । सात तलाको निर्माणाधीन सो भवनको अहिलेसम्मको भौतिक प्रगति ७२ प्रतिशत पुगेको सर्वोच्च अदालतको भौतिक शाखा प्रमुख निरञ्जन शर्माले जानकारी दिनुभयो । त्यसै गरी आर्थिक प्रगति ५६ प्रतिशत पुगेको छ ।

उहाँका अनुसार यस भवन अन्तर्गत १८ वटा इजलास निर्माण भइरहेका छन् । यो भवनको निर्माण म्याद २०८२ असोज १८ गतेसम्म रहेको छ । शाखा प्रमुख शर्माले निर्धारित समयभित्र नै निर्माण सम्पन्न हुने दाबी गर्नुभयो । कुल पाँच अर्ब १९ करोड ८८ लाख ५७७ रुपियाँको लागतमा यो भवन निर्माण भइरहेको छ ।

भवनको आन्तरिक (इन्टेरियर) निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया सुरु भइसकेको छ । यस भवनभित्र करिब चार सय चारपाङ्ग्रे गाडी पार्किङ गर्न सक्ने क्षमताको पार्किङ स्थल निर्माण भइरहेको छ । यो भवन निर्माणका लागि २०७७ चैत १८ गते निर्माण सम्झौता भएको थियो । यो भवनको ठेक्का कालिका/समानान्तर (संयुक्त) ले पाएको छ ।

सिंहदरबार परिसरमै निर्माण भइरहेको गृह मन्त्रालय भवनको काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सिंहदरबारका अनुसार अहिलेसम्म यो भवनको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । यो भवन सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सिंहदरबारको व्यवस्थापनमा भइरहेको छ । कार्यालयका इन्जिनियर आकृति रिमालले अहिले यस भवनको मुख्य संरचना (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई फिनिसिङ, प्लम्बिङ, विद्युत् जडानलगायतका काम भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार माथिल्लो तलामा निर्माण भइरहेको सभाकक्षसहित यो भवन पाँच तलाको हुने छ । यो भवनको ‘बेसमेन्ट’ दुई हजार चार सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ भने भुइँतला एक हजार ६२० वर्ग मिटर क्षेत्रफलमा खुम्चिएको छ । यो भवनको क्षेत्रफल तलदेखि माथिसम्म क्रमशः खुम्चिँदै गएको छ । यो भवन निर्माणका लागि २०७९ कात्तिक २८ गते सम्झौता भएको थियो । सम्झौता अनुसार यस भवनको निर्माण समय २०८२ जेठ १५ गतेसम्म छ । निर्धारित समयभित्र नै निर्माण सम्पन्न हुने इन्जिनियर रिमालले जानकारी दिनुभयो । माउन्टेन÷सत्यसेवर (संयुक्त) भन्ने निर्माण कम्पनीले यो भवन निर्माणको ठेक्का पाएको छ । यो भवन ५६ करोड ४३ लाख रुपियाँको लागतमा निर्माण भइरहेको छ ।

त्यसै गरी सिंहदरबार परिसरभित्र नेपाली सेनाको चण्डीदल गणको प्रयोजनका लागि दुई वटा आधुनिक भवन निर्माण भइरहेका छन् । नेपाली सेनाको ‘भिजन –२०३०’ र ‘बङ्कर टु ब्यारेक’ कार्यक्रम अन्तर्गत निर्माण भइरहेको यो भवनका लागि २०७८ पुस २६ गते सम्झौता भएको थियो । 

कुल रकम ७५ करोड ८८ लाख ८९ हजार रुपियाँको लागतमा निर्माण भइरहेको यो भवनको सम्पन्न अवधि २०८१ असोजसम्म रहे पनि अहिलेसम्म सम्पूर्ण काम सम्पन्न भएको छैन । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको व्यवस्थापनमा यो भवनको निर्माण भइरहेको छ ।

समन्वय कार्यालयका प्रवक्ता ई. रञ्जनकुमार दासले भवनको मुख्य निर्माण कार्य सम्पन्न भई रङरोगनलगायत फिनिसिङको काम भइरहेको जानकारी दिनुभयो । यो आयोजनाका लागि कुल २२ हजार वर्गमिटर क्षेत्रफल छुट्याइएको छ जसमा ‘बिल्ड अप’ क्षेत्रफल नौ हजार ९८८ वर्गमिटर छ । उहाँका अनुसार अहिलेसम्म यस भवनको भौतिक प्रगति र वित्तीय प्रगति क्रमशः सय प्रतिशत र ९५ प्रतिशत पुगेको छ ।