काठमाडौँ, असोज ११ गते । मुलुकका अधिकांश पहाडी र हिमाली क्षेत्रमा बनाइएका राजमार्ग पहिरोले पुर्ने र आवागमन अवरुद्ध हुने घटना बढ्दै गएका छन् । यस्तो अवस्थामा राजमार्ग र सडक निर्माण गर्ने शैली र प्रविधिमै सुधारको आवश्यकता देखिएको छ ।
नारायणगढ–मुग्लिङ सडकखण्डस्थित तुइनखोलामा पटक पटक गएको पहिरो यसको पछिल्लो उदाहरण हो । त्यहाँ पहिरोले सडक पुरिँदा दुई पटक गरी १०५ घण्टा यातायात नै ठप्प हुँदा सयौँ सवारीसाधन अलपत्र बने भने हजारौँ यात्रीले सास्ती खेप्नु प¥यो । केही समययता राजमार्ग र सडकमा पहिरो खस्ने र त्यसलाई हटाउने नियमित प्रव्रिmया जस्तै भएको छ । गत वर्ष नारायणगढ–मुग्लिङ सडकखण्डकै सिमताल भन्ने ठाउँमा असार २८ गते गएको लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा ६५ जना यात्री बेपत्ता भए । दुईवटै बस अहिलेसम्म फेला परेका छैनन् ।
मुलुकका अधिकांश राजमार्गसँग यस्तै कथा र व्यथा जोडिएको छ । तैपनि पहिरोबाट बच्न स्थायी समाधान खोज्नेभन्दा पनि परम्परागत सोच, शैली र प्रविधिकै पछाडि दौड्ने क्रम अझै छ ।
पहिरोको समस्या समाधानका लागि नेपाल जस्तो भूबनोट भएको मुलुकमा राजमार्ग र सडक निर्माण गर्दा पहिरो जाने सम्भावना रहेका ठाउँमा ‘रक सेड’ गर्न सम्बन्धित विज्ञको सुझाव छ । विश्वका विभिन्न विकसित मुलुकमा अपनाइएको यो विधि नेपालमा अहिलेसम्म प्रयोगमा आउन सकेको छैन ।
पूर्वसचिव तथा सडक विभागका पूर्वमहानिर्देशक ई. अर्जुनजङ्ग थापा विश्वका अधिकांश मुलुकमा प्रयोगमा रहेको ‘रक सेड’ प्रविधि अपनाएर सडक र राजमार्गमा आउने पहिरोबाट सवारी र यात्रुलाई सुरक्षित गर्न सकिने बताउनुहुन्छ । यसलाई ‘हाप टनेल’ पनि भन्ने गरिन्छ । यो प्रविधि अफगानिस्तान जस्तो मुलुकमा विगत ४५ वर्ष पहिलेदेखि प्रयोगमा छ । उहाँले भन्नुभयो, “रक सेड पहिरोमा सवारी र सडकलाई सुरक्षित गर्ने प्रविधि हो । पहिरो जाने स्थानमा सडकमाथि आरसिसी ढलान वा स्टिलको भिरालो आकारको बलियो छाना बनाएर ‘रक सेड’ निर्माण गरिन्छ । यसरी निर्माण गरिएको ‘रक सेड’ मा खसेको पहिरो छाना हुँदै खोलामा पुग्छ । सडकलाई कुनै असर गर्दैन । छानामुनिबाट निर्वाध रूपमा सवारीसाधन सञ्चालन भइरहन्छ ।”
उहाँले बर्सेनि पहिरोले ठुलो जनधनको क्षति भइरहेको अहिलेको अवस्थामा ‘रक सेड’ निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । ‘रक सेड’ सामान्य किसिमको भौतिक संरचना भएको हुनाले यसको अध्ययन र निर्माणका लागि ठुलो लगानी र समय आवश्यक नपर्ने उहाँको भनाइ छ । पहिरो जाने ठाउँमा पर्खाल निर्माण उपयक्त उपाय हुन नसक्ने स्पष्ट पार्दै उहाँले विभिन्न अध्ययनले समेत ‘रक सेड’ नै स्थायी समाधान देखाएको जानकारी दिनुभयो ।
पहिरो रोक्नका लागि जोखिम र लगानीको दृष्टिकोणले समेत सबै ठाउँमा सुरुङमार्ग निर्माण सम्भव नरहेको स्पष्ट पार्दै पूर्वसचिव थापाले सुरुङमार्ग निर्माण गर्दा जोखिमयुक्त सामान बोकेका सवारीसाधन सुरुङभित्र भएर लैजान नमिल्ने भएकाले समेत एक मात्र उपयुक्त उपाय ‘रक सेड’ निर्माण नै रहेको स्पष्ट पार्नुभयो ।
नारायणगढ–मुग्लिङ सडकखण्ड दुई लेन विस्तारका क्रममा पहिरो जाने सम्भावित ठाउँमा ‘रक सेड’ निर्माणका लागि अध्ययन गरी सुझाव दिए पनि सो कार्यान्वयन नभएकाले आज पहिरोले दिएको पीडा सहन बाध्य हुनु परेको उहाँको भनाइ छ । ‘रक सेड’ निर्माणको बजेट कट्टा गरी वडास्तरीय आयोजनामा रकमान्तर गरिएको पूर्वमहानिर्देशक थापाले बताउनुभयो ।
पूर्वसहसचिव ई. राजेन्द्र शर्माले पनि सडक र राजमार्गमा पहिरो रोक्न अहिलेसम्मकै सबभन्दा बढी प्रमाणित, सस्तो र प्रयोगमा आइसकेको प्रविधि ‘रक सेड’ रहेको बताउँदै नारायणगढ–मुग्लिङलगायत मुलुकका विभिन्न राजमार्ग र सडकमा यो प्रविधि निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कठिन भूगोल र माटोको बनावटका कारण पर्खाल लगाएर पहिरो रोक्न सम्भव नदेखिएको बताउँदै उहाँले ‘रक सेड’ नै उत्तम उपाय रहेको स्पष्ट पार्नुभयो ।