• २६ मंसिर २०८१, बुधबार

राउटे बस्तीमा छायाङ्कन !

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक २९ गते ।  मोरङको कानेपोखरी–७ स्थित दहीलामीचौर सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको वनभित्र चलचित्र बलिदान छायाङ्कनका लागि कृत्रिम राउटे बस्ती निर्माण गरिएको छ । चलचित्र छायाङ्कनका लागि निर्माण भएको कृत्रिम बस्ती हेर्न जानेको भिड सुरु भएको छ । बलिदान आसुसेन फिल्म प्रोडक्सन प्रालिले निर्माण गरिरहेको चलचित्र हो । लोपोन्मुख राउटे जातिको कथामा आधारित चलचित्रमा नायकका रूपमा समीर भट्ट र सौगात मल्लको अभिनय रहने छ ।

पूर्वपश्चिम राजमार्गको मोरङ खण्ड अन्तर्गत कानेपोखरी चोकबाट डेढ किलोमिटर पूर्व राजमार्गबाट थोरै दक्षिण एउटा उत्तर दक्षिणमा फैलिएको लामो चौर छ । २०२० को दशकतिर त्यहाँ चौर रहेको स्थानीय बुढापाकाको भनाइ छ । दही खोला किनारमा रहेको त्यही चौरको नामबाट स्थानीयले सामुदायिक वनको नाम दही लामीचौर राखेका हुन् । आसुसेन फिल्म प्रोडक्सनले त्यही चौरमा कृत्रिम राउटे बस्ती निर्माण गरेको हो । प्रोडक्सन म्यानेजर विप्लव श्रेष्ठले बस्ती निर्माणका क्रममा झन्डै सात लाख जति खर्च भएको बताउनुभयो । श्रेष्ठका अनुसार मङ्सिरको पहिलो साता राउटे बस्तीको कथासँग जोडिएको विषयमा चलचित्र छायाङ्कन हुने छ । २०८२ सालको नयाँ वर्षमा आउने चलचित्र बलिदान पवन विष्टले निर्माण गरिरहनुभएको छ । सन्तोष सेनले निर्देशन गर्नु हुने बलिदान छायाङ्कनमा हालसम्म चार करोड रुपियाँ खर्च भइसकेको म्यानेजर विप्लव श्रेष्ठले बताउनुभयो ।