• २८ वैशाख २०८१, शुक्रबार

विकास साझेदारीमा नयाँ आयाम

blog

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार लुम्बिनीमा शिष्टाचार भेटवार्ता हुँदै । साथमा प्रधानमन्त्री पत्नी तथा काँग्रेस नेत्री डा. आरजु राणा देउवा हुनुहुन्छ । तस्बिर : सुजन गुरुङ

लुम्बिनी, जेठ ३ गते । नेपाल–भारतबीच दुई देशको सम्बन्धलाई अझ घनिष्ठ र फलदायी बनाउन बृहत् साझेदारी र सहकार्यसाथ अघि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच भएको द्विपक्षीय भेटवार्तामा दुई देशका सरकार प्रमुखले विकास साझेदारीको नयाँ आयाम थपेर अघि बढ्ने सहमति गर्नुभएको हो । दुई देशबीचको सम्बन्ध अकाट्य रहेको स्मरण गर्दै नेपालको औपचारिक भ्रमणमा सोमबार लुम्बिनी आउनुभएका भारतका प्रधानमन्त्री मोदीले द्विपक्षीय वार्ता फलदायी भएको स्मरण गर्नुभयो । 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीसँग लड्न भारत सरकारको सहयोगका लागि भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिँदै भूकम्पपछिका सम्पदालगायतको पुनर्निर्माणमा भारतको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । दुवै पक्षबीच कनेक्टिभिटीमा सहयोग प्रवद्र्धन गर्ने, मलको आपूर्ति सहज बनाउने, पारवहन सन्धि, व्यापार सन्धिको पुनरवलोकन गर्नुपर्नेमा सहमति भएको छ ।

 त्यसका अतिरिक्त हवाई प्रवेश मार्ग, जलविद्युत् उत्पादन, बौद्ध सर्किट र रामायण सर्किटसहित संस्कृति र पर्यटन, शिक्षा र शैक्षिक सहयोगका बहुपक्षीय क्षेत्रमा दुई प्रधानमन्त्रीले छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । व्यक्तिगत रूपमा बोकिने भारतीय मुद्रामा न्यूनतम सीमा बढाउने तथा अन्य पारस्परिक हितका मामिलामा क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा सहयोग आदानप्रदान गर्ने सम्बन्धमा दुई प्रधानमन्त्रीले परामर्श गर्नुभएको छ । 

पञ्चेश्वर आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन दुवै प्रधानमन्त्री सहमत ।  

चाँदनी दोधारामा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकीका साथै पूर्णागिरि माई, उत्तराखण्ड, भारत र नेपालको डडेल्धुराको परशुराम धामलाई जोड्ने महाकाली नदीमा पुल तथा पूर्वाधार विकासबारे छलफल गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपालको उदयपुर जिल्लाको मोतिगडा–फत्तेपुर–रामपुर सडक भारतीय अनुदान सहायतामा निर्माणका विषयमा विचार गर्न भारत सरकारलाई आग्रह गर्नुभयो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन र व्यावसायिक सञ्चालनको सुरुवातको सन्दर्भमा प्रधानमन्त्री देउवाले विमानस्थलले सम्पर्क सञ्जाल, सांस्कृतिक सम्बन्ध र जनता–जनताको आवतजावतलाई थप सहज बनाउने र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने जानकारी गराउनुभयो । 

साथै महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्गका लागि अनुरोध गर्नुभयो । भारतका प्रधानमन्त्री मोदीले उहाँले उठाउनुभएका विषयलाई भारतका सम्बन्धित अधिकारीले थप छलफल गरेर अघि बढाउने आश्वासन दिनुभयो ।

प्रधानमन्त्री देउवाले पारस्परिक हितका लागि दीर्घकालीन आधारमा निर्वाध ऊर्जा व्यापार गर्न आग्रह गर्नुभयो । अरुण तेस्रो आयोजना राम्रोसँग अगाडि बढिरहेकोमा दुवै पक्षले सन्तोष व्यक्त गर्दै अरुण–चौथो जलविद्युत् आयोजनाको विकासका लागि नेपाल विद्युत् प्राधिकरण र एसजेभीएन लिमिटेड भारतबीच भएको समझदारीपत्रमा हस्ताक्षर र आदानप्रदान भएकामा खुसी व्यक्त गर्नुभयो  । दुवै प्रधानमन्त्रीले स्वच्छ ऊर्जाका लागि जलविद्युत्को महìवमा जोड दिँदै जलविद्युत् क्षेत्रमा सार्वजनिक निजी साझेदारी (पीपीपी) का अपार सम्भावना रहेको स्वीकार गर्नुभयो । 

अरुण ४ परियोजनाको विकास र कार्यान्वयनका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी एसजेभीएनबीच समझदारी । 

प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् आयोजनाको विकासका लागि भारतका इच्छुक कम्पनीलाई निमन्त्रणा गर्नुभयो । पञ्चेश्वर आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन दुवै प्रधानमन्त्री सहमत हुनुभयो । त्यस्तै वार्तामा लुम्बिनी र कुशीनगरबीच भगिनी सहर सम्बन्ध स्थापना गर्न दुवै पक्षले सैद्धान्तिक रूपमा सहमति जनाउनुभएको छ । 

पाँच समझदारीपत्रमा हस्ताक्षर

भेटवार्ता लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको समुपस्थितिमा एक सम्झौतासहित पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसमा महìवपूर्ण सम्झौताका रूपमा अरुण ४ परियोजनाको विकास र कार्यान्वयनका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी एसजेभीएनबीच भएको समझदारीपत्र रहेको छ । 

अन्य पाँच समझदारीपत्रमा नेपालको लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्बीच बौद्ध दर्शनको अध्ययन, त्रिभुवन विश्वविद्यालयस्थित नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्बीच हिन्दी अध्ययन, काठमाडौँ विश्वविद्यालयमा हिन्दी अध्ययनका लागि रहेका छन् ।

चौथोमा काठमाडौँ विश्वविद्यालय र नेपाल एन्ड इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासबीचको समझदारीपत्र रहेको छ । त्यस्तै यी दुई पक्षबीच स्नातकोत्तर अध्ययन अध्यापनका लागि एउटा छुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।