गोरखापत्र अनलाइन
भक्तपुर, असोज २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने काम ख्यालठट्टा नभएको बताउँदै उहाँले जेनजी पुस्ताको माग सम्बोधनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) भक्तपुरले बिहीबार भक्तपुरको गुण्डुमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउँदै देशको परिवर्तन र विकासमा एमाले जत्तिको चिन्तित पार्टी कुनै नभएको दाबी गर्नुभयो । देशको परिवर्तन र समृद्धिका लागि एमाले स्थापनाकालदेखि सङ्घर्ष गर्दैआएको शक्ति भएको उहाँले प्रष्ट पार्नुभयो ।
जेनजी आन्दोलनको आवरणमा षडयन्त्रकारीहरूले नेपालको भौतिक संरचना ध्वस्त बनाएको बताउँदै उहाँले भन्नुभयो, “जेनजीको एजेण्डा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु हो । यहाँ सुशासन कायम हुनुपर्छ भन्ने हो । देशको समृद्धि र विकास हुनुपर्छ भन्ने हो । हामी सबैको माग पनि त्यही हो ।” सार्वजनिक पद धारणा गर्ने सबैको सम्पत्ति छानबिन गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
आफू नेतृत्वको सरकारले सामाजिक सञ्जाल नरोकेको बरु नेपालमा दर्ता भएर चलाउ मात्र भनेको प्रष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो, “टमाटर र तरकारी उत्पादनले कर तिर्छन्, सामाजिक सञ्जालबाट अरबाैं रुपियाँ कमाउनेले सरकारलाई कर तिर्नु पर्दैन ? नेपालमा दर्ता भएर कर तिर भनेका हौं, बन्द गरेका होइनौं ।” अराजकता मच्चाउन सामाजिक सञ्जाल बन्द गरिएको आरोप लगाइएको उहाँले टिप्पणी गर्नुभयो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माणको विषय एउटा पुस्ताको मात्र नरहेको बताउँदै परिवर्तन सबैको चाहना र योगदानको खाँचो रहेको बताउनुभयो । जेनजी पुस्ताको आवरणमा मुलुकलाई वर्वाद गर्ने षडयन्त्र भइरहेको बताउँदै उहाँले देशलाई बचाउन सबै शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।
पश्चिमाहरूले पुस्ता विभाजन गरी नेपालमा अस्थिरता कायम गर्न खोजेको आरोप लगाउँदै महासचिव पोखरेलले भन्नुभयो, “भदौ २३ र २४ गते भएको आन्दोलनमा अराजकता कायम भएको छ । विद्यालयका विद्यार्थीलाई प्रयोग गरी शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गराई अराजकता मच्चाउने काम भएको छ ।” जेनजी आन्दोलनको नाममा मुलुकमा ठुलो अपराध मच्चाउने काम भएकाले दोषीलाई कारबाही गर्नुपर्छ उहाँले भन्नुभयो ।
अन्तरिम सरकारको लक्ष्य फागुन २१ गते तय भएको निर्वाचन गराउने देखिए पनि शान्ति सुरक्षाका लागि सुरक्षाकर्मीको मनोबल उठाउन आवश्यक रहेको बताउनुभयो । प्रहरीको हतियार लुटिएको छ, प्रहरीको कार्यालय जलाइएका छन्, सरकारले मनोबल उठाउने काम गरेको छ त ? उहाँले जिज्ञासा गर्नुभयो । निर्वाचनबारे दलहरूसँग सरकारले परामर्श नगरेको बताउँदै उहाँले राजनीतिक दलहरूलाई किनारा लगाएर निर्वाचन सफल हुन नसक्ने उहाँले बताउनुभयो ।
एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले नेपालको राजनीतिलाई प्रणालीमा ल्याउन नसके मुलुक युक्रेन, सुडान बन्ने खतरा औल्याउनुभयो । मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल बनाउन उद्देश्य सबैको साझा एजेण्डा भएको बताउँदै उहाँले त्यसका लागि सबै एक भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । नेपाललाई अस्थिर बनाउन विभिन्न शक्तिहरू लागि परेकाले देशको राष्ट्रियता जोगाउन सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने बताउनुभयो ।
अर्का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपाललाई असफल बनाउन विभिन्न देशी विदेशी शक्तिहरु सल्बलाइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने बताउनुभयो । जेनजीको माग आफ्नो ठाउँमा ठिक रहे पनि जेनजीको आवरणमा मुलुकको भौतिक संरचना जलाउने काम दुःखद भएको टिप्पणी गर्नुभयो ।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले मुलुकको परिवर्तनको चाहना सबैको साझा भए पनि अराजकता कायम गरी विकास सम्भव नभएको बताउनुयभो । एमालेलाई लक्षित गरी गरिएको आक्रमण सह्य नरहेको बताउनुभयो । मुलुकको विकास एमालेको नेतृत्वमा गर्ने दाबी गर्दै नेता बस्नेतले देश वर्वाद गर्न खोज्ने तत्वलाई परास्त गरिने बताउनुभयो ।