• २३ असोज २०८२, बिहिबार

पटाकाजन्य पदार्थ नियन्त्रणमा प्रहरीको निगरानी

blog

कपिलबस्तु प्रहरीले सिमाक्षेत्रबाट बरामद गरेको पटाकाजन्य पदार्थ । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), असोज २३ गते । कपिलबस्तु प्रहरीले पटाका भित्रिन नदिन जिल्लाका सीमा नाकामा निगरानी बढाएको छ । तिहारमा भारतबाट अबैधरुपमा भित्रिने पटाकाजन्य पदार्थको नियन्त्रणका लागि प्रहरीले बिशेष निगरानी बढाएको हो । 

बढी मुनाफा पाउने भएपछि ब्यापारीहरुले बिभिन्न नाकाबाट लुकीछिपी पटाका भित्र्याउने गरेपछि प्रहरीले त्यसलाई निस्तेज पार्न नाकाहरुमा निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार गत असोज २० देखि २२ गतेसम्म प्रहरीले सिमानाका र आसपासका क्षेत्रमा २ लाख ६३ हजार बढीको पटाका बरामद गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले नाकाहरुमा पटाका भित्रिन नदिन बिशेष निगरानी बाढाका छौ ।’  उहाँले खुला सीमाका कारण रोकथाम गर्न चुनौती रहेको बताउनुभयो । कारागारबाट कैदीबन्दीहरु फरार भएको र कपिलवस्तु सुरक्षाको दृष्किोणले अति संबेदनशील सूचीमा पर्ने भएकाले बिस्फोटजन्य पदार्थको ओसारपोसार, बिक्री बितरणमा बिशेष निगरानी गरिएको आचार्यको भनाइ छ । प्रहरीले कडाई गरे पनि ब्यापारीहरुले पटाका भित्र्याउने क्रम रोका छैनन् ।  

तिहारको आगमनसँगै कपिलवस्तुमा विस्फोटजन्य पदार्थको रुपमा प्रतिबन्धित पटाकाको भित्रिनेक्रम बढेको छ । स्थानीय प्रशासनले रोक लगाए पनि पटाकाजन्य पदार्थ भित्रिने क्रम रोकिएको छैन । भारतीय बजारबाट नेपाली व्यापारीहरुले त्यस्ता प्रतिबन्धित र प्रज्ज्वलनशील पटाका र बारुदहरु खरिद गरी लुकीछिपी ल्याउने गरेका छन् ।