• २३ असोज २०८२, बिहिबार

नेतान्याहूद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा

blog

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू

जेरुसेलम, असोज २३ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धविराम र बन्धक मुक्तिको लागि हमाससँग भएको सम्झौताको प्रशंसा गर्दै सम्झौताको अनुमोदन गर्नका लागि शुक्रबार मन्त्रीमण्डल बोलाउने निर्णय गरको जनाउनुभएको छ ।  

नेतान्याहुले विज्ञप्तिमार्फत सम्झौता भएको दिन इजरायलका लागि एउटा महान् दिन भएको भन्दै  सम्झौतामा  “सबै“ बन्धकहरूको रिहाइ समावेश भएको बताउनुभएको छ । गाजामा बाँकी रहेका ४८ जना बन्धकमध्ये करिब २० जना अझै जीवित रहेको इजरायलले जनाएको छ ।

योजनाको पहिलो चरणको स्वीकृतिसँगै सबै बन्धकहरूलाई घर फर्काइने आश्वासन दिंदै यो कार्य कूटनीतिक सफलता र इजरायलका लागि राष्ट्रिय तथा नैतिक विजय भएको उहाँले बताउनुभएको छ । 

सम्झौतामा मतदान गर्न मन्त्रिपरिषद् बोलाउने अपेक्षा गरिएको  प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेतान्याहुको दक्षिणपन्थी गठबन्धनका  प्रमुख सदस्यहरू, बसोबास समर्थक मन्त्रीहरू इटामार बेन–गभिर र बेजलेल स्मोट्रिचले बारम्बार हमाससँगको सम्झौताको विरोध गर्दै सार्वजनिक रूपमा गाजामा यहूदी बस्तीहरूको पुनर्निर्माणका लागि आह्वान गरेका छन् ।

नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनमा कुराकानी गरेको जनाउँदै  नेतन्याहुको कार्यालयले फोन वार्तामा अत्यावश्यक र भावनात्मक कुराकानी भएको उल्लेख गरेको छ ।  जसमा उनीहरूले सबै बन्धकहरूको रिहाइ सुरक्षित गर्न सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक उपलब्धिका क्रममा एक अर्कालाई बधाईसमेत दिएका छन् । 

इजरायल र हमासले गाजा युद्धको अन्त्य गर्ने र बन्धक र केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने आफ्नो २० सूत्रीय योजनाको ‘पहिलो चरण’ मा सहमत भएको सामाजिक सञ्जालमार्फंत ट्रम्पले घोषणा गर्नुभएको छ । 

ट्रम्पले योजना बमोजिम सबै बन्धकहरू चाँडै नै रिहा हुने तथा इजरायलले बलियो, दिगो र चिरस्थायी शान्तिको मार्गमा सहमतिसहित आफ्नो सेना फिर्ता गर्ने र सबै पक्षलाई उचित व्यवहार गरिने जनाउनुभएको छ । 

 इजरायल र हमासका प्रतिनिधिमण्डलले कतार, इजिप्ट र अमेरिकी मध्यस्थकर्ताको मध्यस्थतामा इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा सोमबार देखि निरन्तर वार्ता गरिरहेका छन् ।

सन् २०२३ अक्टोबर– ७ मा युद्ध सुरु भएदेखि, इजरायली आक्रमणले गाजापट्टीलाई ध्वस्त पारेको छ भने गाजामा  व्यापक अनिकाल र विस्थापन निम्त्याएको छ भने कम्तीमा ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै  १६ लाख  नौ हजार ८४१ अन्य घाइते भएको गाजाका  स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्वा