• २२ मंसिर २०८१, शनिबार

आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्न कार्यदल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २६ गते । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा आंशिक प्राध्यापकका रूपमा कार्यरत व्यक्तिलाई करार बनाउन तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ ।

प्राडा योगेन्द्रबहादुर गुरुङको संयोजकत्वमा गठन गरिएको टोलीले आङ्गिक क्याम्पस तथा विभागमा स्थलगत अध्ययन गरेर शिक्षाध्यक्षको कार्यालयलाई प्रतिवेदन पेस गर्ने छ । विश्वविद्यालयमा हाल कार्यरत स्थायी, अस्थायी र करार सेवाका प्राध्यापकले पूर्ण कार्यभार अनुसार पढाएर बाँकी रहेका दरबन्दीमा आंशिक रूपमा पढाइरहेका व्यक्तिलाई मात्रै करार सेवामा शिक्षण सहायक पदमा नियुक्त गरिने छ । 

त्रिवि शिक्षाध्यक्ष कार्यालयका प्रमुख गोविन्दबहादुर थापाका अनुसार उक्त टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक कार्यविधि निर्माण गरेर प्रक्रिया अघि बढाइने छ । आंशिक प्राध्यापकलाई करार सेवामा नियुक्त गर्ने विषयमा त्रिवि कार्यकारी परिषद्को गत साउन २३ गतेको बैठकले निर्णय गरेको थियो । 

त्रिविमा आंशिक रूपमा कार्यरत प्राध्यापकले करार सेवामा नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । यस विषयमा विश्वविद्यालय प्रशासन र आंशिक प्राध्यापकबिच पटक पटक सम्झौतासमेत भएको थियो । 

आर्थिक रूपमा निकै कमजोर बन्दै गएको त्रिविमा आंशिक प्राध्यापकलाई करार सेवामा लैजाँदा ठुलो व्ययभार थपिने भन्दै सरोकारवालाले भने असन्तुष्टि जनाउँदै आएका छन् । हाल त्रिविमा दुई हजारको हाराहारीमा आंशिक प्राध्यापक कार्यरत छन् ।