• ७ मंसिर २०८१, शुक्रबार

कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकलाई स्याउ

blog

ताप्लेजुङको पर्यटकीय हिमाली क्षेत्र फलेमा फलेको स्याउ। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २५ गते। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको प्रवेशस्थल फले र घुन्सामा फलेको स्याउ पर्यटकलाई चखाउन थालिएको छ। हिमाली क्षेत्र लेलेपको फले र घुन्सामा स्याउ फल्न थालेपछि कञ्चनजङ्घा भ्रमणमा आउने पर्यटकलाई चखाउन थालिएको हो। 

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फलेको उचाइ तीन हजार २३२ मिटर रहेको छ। यस्तै घुन्साको उचाइ तीन हजार ४७५ मिटर रहेको छ। उक्त उचाइ रहेको हिमाली क्षेत्र अर्थात् भूभागमा स्याउ फलेपछि पर्यटकलाई चखाउने गरिएको स्थानीयले बताएका छन्। 

यहाँका स्थानीयले डेढ वर्षअघि इटालीबाट स्याउको बिरुवा ल्याएर रोपेका हुन्। हिउँद यामभर निकै बाक्लो हिउँ पर्ने क्षेत्र फले र घुन्सामा स्याउको बिरुवा रोपेको छ महिनादेखि नै फल लाग्न थालेको थियो। पर्यटकीय क्षेत्र फले र घुन्साका स्थानीयले पहिलो पटक फुजी र गोल्डेन डेलिसियस जातको स्याउको बिरुवा रोपेका हुन्। 

फलेका स्थानीय मिङ्मा शेर्पाका अनुसार मनाङ एग्रो नामक फार्मको समन्वयमा फुजी र गोल्डेन डेलिसियस दुई प्रजातिको स्याउको बिरुवा ल्याएर रोपिएको थियो। परीक्षणका लागि रोपिएको स्याउ फल लागेमा कञ्चनजङ्घा भ्रमणमा आउने पर्यटकलाई चखाउने र कोसेली दिने योजना बनाएकोमा अहिले सफलता मिलेको शेर्पाको भनाइ छ। बिरुवा रोपेको छ महिनादेखि नै स्याउ फल्न थालेपछि कोसेलीका रूपमा अहिले नै दिन नसके पनि चखाउन भने सुरु भएको उहाँले बताउनुभयो।

घुन्साका स्थानीय पेमा शेर्पाले स्याउको परीक्षण खेती सफल भएको बताउनुभयो। इटालीबाट बिरुवा ल्याएर रोपेको स्याउ छोटो समयमै फल्न थालेपछि खेतीमा संलग्न फले र घुन्साका किसान हर्षित भएका शेर्पाको भनाइ छ। उहाँका अनुसार हिमाली क्षेत्रमै स्याउ फलेपछि स्थानीय किसान आफ्नो उद्देश्य पुरा हुनेमा विश्वस्त छन्।

हिमाली बस्ती फले र घुन्सा कञ्चनजङ्घा हिमालको भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहने क्षेत्र हो। यस क्षेत्रमा स्याउ फलाएर कञ्चनजङ्घा भ्रमणमा आउने पर्यटक तथा पाहुनालाई कोसेलीका रूपमा प्रदान गरी आयआर्जन बढाउने आफूहरूको उद्देश्य रहेको स्थानीय किसान बताउँछन्। खेती पूर्णरुपमा सफल भएमा स्याउको व्यावसायिक खेती लगाउने योजनामा किसान रहेका बुझिएको छ।