• ३ कात्तिक २०८२, सोमबार

किशोरी प्राथमिकता कार्यक्रमले कुप्रथामा न्यूनीकरण

blog

खप्तड छेडेदह गाउँपालिका–५, डोगडी पवित्रा बुढा किशोरी समूहमा कुप्राबारे प्रशिक्षण गर्नुहुँदै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, कात्तिक ३ गते ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा सञ्चालन हुँदै आएको किशोरी प्राथमिकता कार्यक्रमले गाउँ बस्तीमा हुने गरेका सामाजिक कुप्रथालाई न्यूनीकरण गर्दै आएको छ । महिला विकास मञ्च बाजुराले २०७६ सालदेखि यहाँ सात वटै वडामा यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

संस्थाले कार्यक्रम सञ्चालन भएको एक वर्षमै यहाँ हुने गरेका जातीय विभेद छुवाछुत छाउप्रथा बालविवाह लैङ्गिक हिंसालगायतका सामाजिक कुप्रथालाई न्यूनीकरण आएको महिला विकास मञ्च बाजुराले जनाएको छ ।

महिनावारी भएको बेला यहाँका किशोरीहरुले विद्यालय जान पाउँदैन थिए । घरको कोठामा पनि सुत्न दिँदैन थिए । अहिले यो कार्यक्रमले विद्यालय जान त के महिनावारी हुँदा घरकै कोठामा सुत्न सहज गरेको खप्तड छेडेदह गाउँपालिका-५, डोगडीका किशोरी कलवकी संयोजक पवित्रा बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिनावारी भएका बेला गाई भैँसीलाई छुन समेत नपाएका महिलाहरुले अहिले दहि दुध मोही जस्ता पोसिला खानेकुरा समेत खान पाएका छन् ।”

बाल क्लब, किशोर तथा किशोरी क्लबकै कारण गाउँ समाज गैरदलितले दलितमाथि गरिने जातीय विभेद र बालविवाहमा समेत न्यूनीकरण भएको बुढाले बताउनुभयो ।

सामाजिक रूपान्तरणका लागि किशोरी कार्यक्रम निकै प्रभावित भएको महिला विकास मञ्च बाजुराका सहजकर्ता देवबहादुर सेरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा भएका हुने गरेका सामाजिक कुप्रथा समेतमा कमी आएको छ । पहिला यहाँका बालबालिकाहरूले पढ्न छोडेर सानै उमेरमा विवाह गर्ने गर्थ्यो ।”

अहिले यहाँका बालबालिकाहरूको पढेर केही गर्छु । यसका लागि हामीले पढ्नु पर्छ । सानै उमेरमा विवाह गर्दा किशोर किशोरी दुवैको स्वास्थ्यमा असर पर्छ । त्यसैले हामीले सानै उमेरमा विवाह गर्नु हुँदैन भन्ने जस्ता सोच गर्ने गरेको सेरालाले बताउनुभयो ।

सामाजिक कुप्रथा न्यूनीकरण गर्नका लागि यहाँका सात वटै वडामा ९२३ क्लब गठन गरिएका छन् । जसमा २५ वटा किशोर २८ किशोरी र ८ वटा बालसमुह गठन गरेका छौँ । किशोर १७५ किशोरी ५८८ र बालसमूहमा १६० गरी ९२३ जना बालबालिकाहरू कार्यक्रममा समेटिएको महिला विकास मञ्च बाजुराका प्रमुख उजा विष्टले बताउनभुयो ।

उहाँले भन्नुभयो, “यहाँका किशोरीहरूलाई प्रत्येक शनिबारमा दुई घण्टा तथा किशोर र बालबालिकाहरूलाई प्रत्येक महिनाको एक पटक सामाजिक कुप्रथाका बारेमा प्रशिक्षण गर्ने गरेका छौं । उनीहरूले त्यहाँ सिकेको कुरालाई घरमा गएर आफ्ना अभिभावकहरूलाई सेयर गर्छन् । अभिभावकले पनि उनीहरूको कुरामा सहमति जनाउँदै आएका छन् ।”

बाल क्लब , किशोर र किशोरी समूहले समाज सुधार गर्नका लागि खेलेको भूमिकाले नै अहिले समाजमा हुने गरेका सामाजिक कुप्रथा न्यूनीकरण हुँदै गएको हो । कार्यक्रम सञ्चालनपछि अहिले खप्तड छेडेदह गाउँपालिकामा झण्डै ७५ प्रतिशत समाजिक कुप्रर्थामा न्यूनीकरण आएको महिला विकास मञ्च बाजुराका प्रमुख विष्टले बताउनुभयो ।