• ३ कात्तिक २०८२, सोमबार

उज्यालो पर्वले अन्धकार हटाई समृद्ध नेपाल निर्माण गर्छः प्रदेश प्रमुख देवकोटा

blog

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

अनिल पराजुली
हेटौँडा, कात्तिक ३ गते ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उज्यालो पर्वले अन्धकार हटाई समृद्ध नेपाल निर्माण गर्न मद्दत गर्ने बताउनुभएको छ । दीपावली, नेपाल सम्वत् ११४६, भाइटिका, म्हँ पूजा र छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले आसन्न उज्याला पर्वहरूले अन्धकारलाई हटाई सभ्य, सुन्दर, शान्त र समृद्ध नेपाल निर्माणको दिशामा अघि बढ्न सबैलाई प्रेरणा दिने अपेक्षा गर्नुभएको हो ।

“गत भदौ २३ र २४ गते देशभर चलेको आन्दोलनले जनधनको अपूरणीय क्षति र राजनैतिक उथलपुथलता ल्याएको छ, अनिश्चय र आशङ्काका बादल देशमाथि मडारिरहेको बेला राष्ट्रिय स्वार्थ, स्वाभिमान, एकता र सह–अस्तित्वलाई सम्पूर्ण नेपालीले शिरोपर गर्नु आजको अपरिहार्यता रहेको हो, युवापुस्ताको भावनालाई यथोचित सम्बोधन गरी हामी अघि बढ्नुपर्दछ ।” प्रदेश प्रमुख देवकोटाले भन्नुभयो ।

हाम्रो सांस्कृतिक विविधता, सामाजिक एकता र उन्नति एवम् सत मार्गको प्रतिकस्वरुप मनाइने दीपावली र लक्ष्मीपूजाले अन्धकारमाथि उज्यालोको विजय र निराशामाथि आशाको सन्देश दिने उहाँको भनाइ छ । ऊर्जा, सद्भाव र समृद्धिको अखण्ड दीप प्रज्ज्वलनको कामना गर्नुभएको छ । प्रदेश प्रमुखद्वारा जारी शुभकामना सन्देशमा नेपाल संवत् हाम्रो गौरवपूर्ण इतिहास र सांस्कृतिक पहिचानको प्रतीक भएकाले राष्ट्रिय विभूति शंखधर साख्वाले लिच्छवी राजा राघवदेवको शासनकालमा काठमान्डु उपत्यकामा रहेका गरिब तथा किसानलाई ऋणमुक्त पारी चलाएको गौरवपूर्ण इतिहास र सांस्कृतिक पहिचान बोकेको सम्वत् नै नेपाल सम्वत् भएको उल्लेख गरिएको छ । मौलिक संस्कृतिको धनी नेवार समुदायले म्हँ पूजा गरी आत्म बोध, स्वमूल्य र आत्म साक्षात्कारको भावना जागृत गर्ने गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

तिहार पर्व प्रकृति तथा विभिन्न देवी देवताप्रति सम्मान र पूजा अर्चना गरी हांसिखुशीका साथ मनाइन्छ, भाइटिकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र मालाका साथ सुख र दीर्घायुको कामना गर्दछन्, भाइटिकाले दाजुभाइ, दिदीबहिनीबिचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास शुभकामना सन्देशमा लिइएको छ ।

प्रदेश प्रमुख देवकोटाद्वारा जारी सन्देशमा छठ पर्व मानव र प्रकृतिबिचको सम्बन्ध र सन्तुलनलाई उजागर गर्ने पर्व हो । यस पर्वमा सूर्यदेवता र छठी माताको पूजा गरिन्छ । व्रतालुहरू नदी, ताल तलैयाको किनारमा गएर सूर्यको पूजा गरी श्रद्धाभाव र हर्षोल्लासका साथ छठ मनाउने उल्लेख छ । चाडपर्व र परम्पराहरू हाम्रा अमूल्य निधि हुन्, विविध संस्कृति, भाषा, धर्म, आस्थाले सुशोभित हाम्रो समाजमा यी पर्वहरूले आपसी सद्भाव, सहिष्णुता, सह–अस्तित्वसँगै सामाजिक एकता, सांस्कृतिक सम्पन्नता र राष्ट्रिय पहिचानलाई बलियो बनाएका छन्, प्रदेश प्रमुख देवकोटाले भन्नुभएको छ ।