रामकृष्ण बोहरा
बागलुङ, कात्तिक ३ गते । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरी प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दीर्घरोगका बिरामीका लागि चाहिने औषधी नभएको भन्ने पाइएको बताउनुभयो । अत्यावश्यक औषधी खरिदका लागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पाठक बताउनुहुन्छ ।
अस्पतालको फार्मेसीमा नपाएको औषधी अस्पतालमै कार्यरत कर्मचारीको निजी क्लिनिकमा भेटिने गरेको तथ्य बाहिर आएको छ । यो तथ्यले के अस्पतालमा औषधी अभाव भएकै हो त भन्ने जिज्ञासा आम नागरिकमा पलाएको छ । अस्पतालमा नपाउने तर निजी क्लिनिकमा चर्को मूल्य तिर्न बाध्य उपभोक्ताले पनि यो समस्याबारे गुनासो गर्ने गरेका छन् ।
खोजेको समयमा औषधी नभेटिएको भन्दै कतिपय बिरामीले सरोकारवालासँग गुनासो गर्दै आएका थिए । दसैँ आसपासदेखि विभिन्न दीर्घरोगीले अस्पतालको फार्मेसीमा चाहेको औषधी नपाएको चर्चा आइरहेको बेला पाठकले अनुगमन गर्नुभएको थियो ।
विशेषगरी थाइराइड, मधुमेह, मुटुरोग र उच्च रक्तचाप लगायतका रोगका बिरामीले औषधी नपाएर फर्केपछि निजी क्लिनिकमा खोजी गर्न बाध्य भएको जानकारी आएको थियो । नियमित अस्पतालभित्रै पाइने, निःशुल्क पाइने तथा शुल्क तिरेर पनि सहज पाउने खालका औषधी नपाएपछि सेवाग्राहीको चिन्तालाई मन्त्री पाठकले सम्बोधन गर्ने प्रयास गर्नुभएको हो ।
पाठकले मन्त्रालयबाट एक डेढ महिना अघिनै निकास भएको रकम अस्पतालले खर्च नगरेको बताउनुभयो । औषधी टेण्डर नगर्दा अस्पतालमा अभाव भएको, सोही मौका छोपेर अस्पतालमा कार्यरत डक्टर तथा स्वास्थ्यकर्मीको क्लिनिकमा भने ती औषधी भेटिएको पाठकको प्रतिक्रिया छ ।
अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले अस्पतालको फार्मेसीमा केही समस्या भएको स्वीकार्नु भएको छ । उहाँले तिहारपछि मात्र औषधी टेण्डर गर्ने तयारी भैरहेको बताउनुभयो । तिवारीका अनुसार, दशैमा बिरामीको चाप बढेर औषधी सकिएको हो । ‘‘आवस्यकता भन्दा बढी लिन चाहनेहरुले पनि यो समस्या आएको हो’’ डा. तिवारीले भन्नुभयो । अस्पतालले पहिचान गरेका बिरामीले उपयोग गर्ने औषधीको औषत हेरेर अस्पतालले राख्ने गरेकोमा दसैँको बेला धेरै किनेर लैजान खोज्नेहरु बढ्दा औषधी सकिएको तिवारीले प्रष्ट्याउनुभयो ।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले बाहिर क्लिनिक चलाएको विषयमा भने तिवारीले बोल्न चाहनुभएन । ‘‘यसको आफ्नै कार्यविधि र नियम छ, सबैले पालना गर्नु आवश्यक छ’’ उहाँले भन्नुभयो । उहाँले तिहारपछि दिर्घरोगका औषधीको टेण्डर हुने र यस्ता समस्या आउन नदिने बताउनुभयो ।