• २३ मंसिर २०८१, आइतबार

पशु कल्याणका नियम कागजमै सीमित

blog

काठमाडौँ, कात्तिक २५ गते । पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा आवश्यक मापदण्ड पूरा नगरे कारबाहीको भागिदारी बन्नुपर्ने नियमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । ढुवानीका क्रममा आवश्यक मापदण्ड पूरा नगरेपछि प्रहरीले आक्कलझुक्कल कारबाही चलाएको देखिन्छ तर पशु अधिकारकर्मीहरू सरकारी निकायले नियमको प्रभावकारी अनुगमन गर्न नसकेको बताउँछन् ।

एक महिनाअघि इलाका प्रहरी कार्यालय गणेशपुर, कपिलवस्तुको नियमित जाँचका क्रममा ट्रकमा २१ वटा गोरु बाँधेर राखेको, सबै गोरुको पुच्छर ट्रकको छतमा डोरीले बाँधेर झुन्ड्याएको, नाक छेडेर डोरी बाँधिएको, खुट्टा बाँधेर पल्टाएको, त्रिपालले पूरै ट्रक ढाकेर स्वासप्रश्वासमा अवरोध पु¥याएको अवस्थामा फेला पारेपछि ट्रक चालक निजगढ नगरपालिका–४ का २६ वर्षीय कमल धामीलाई प्रहरीले नियन्त्रणमा लियो । 

प्रहरीले धामीले चलाएको ना ६ ख ३७०८ नम्बरको ट्रकमा जाँच गर्दा मापदण्ड पालना नगरी पशु ढुवानी गरिएको भेटिएपछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रकमा मापदण्डविपरीत ओसारपसार गरिएका २१ वटा गोरुलाई बाँधेका सबै डोरी काटेर प्रहरीले जवाभारीको सार्वजनिक जङ्गलमा छोडेको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले धामीलाई सात दिन हिरासतमा राखेर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० को (१) बमोजिम कारबाहीका लागि अनुसन्धान गरिरहेको छ । 

गत जेठ २२ गते खाद्यान्न बोकेका १३ वटा खच्चड कर्णाली नदीको झोलुङ्गे पुल तर्दा जालीमै अड्किए । ११ वटालाई नदीमा खसालेर उद्धार गरिए पनि दुई वटा खच्चड मरे । सामाजिक सञ्जालमा केही दिन निकै प्रचारमा आएको त्यो हृदयविदारक दृश्य धेरैले बिर्सिएको पशु अधिकारकर्मी दुर्गानाथ दाहाल बताउनुहुन्छ । 

हरेक दिन शरीर रक्ताम्मे बनाएर मासुका लागि भारत हुँदै ठुलो सङ्ख्यामा राँगा, भैँसी, खसीबोकाको ढुवानी हुने गरे पनि सरकारी निकायले प्रभावकारी अनुगमन गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो । पशु अधिकारकर्मीको लामो प्रयास र आन्दोलनपछि पशुलाई ढुवानी गर्न आवश्यक नीतिलाई समेटेर पशु ढुवानीसम्बन्धी २०६४ को मापदण्ड तथा पशु कल्याण निर्देशिका २०७३ बने पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।  

पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा आठ घण्टाभन्दा धेरै हिँडाउन नपाउने व्यवस्था गरे पनि त्यो कार्यान्वयनमा नआउँदा पशुले दुःख कष्ट पाउँदै आएका छन् । गाडीमा ढुवानी गर्दा अधिकतम ४८ घण्टामा गन्तव्य पु¥याउनै पर्ने हरेक आठ घण्टामा तल झारेर दानापानी दिएर मात्र अघि बढाउनुपर्ने निर्देशिकामा उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । 

नेपालमा भारत तथा चीनदेखि पशुको ढुवानी हुने गरेको छ तर मापदण्ड भने पालना हुन सकेको छैन । पशु चिकित्सक मणिप्रसाद सापकोटाले घरपालुवा पशुको स्याहारसुसार तथा ओसारपसारसम्बन्धी नियम बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पशुलाई कष्टकर रूपमा ढुवानी गरिँदै आएको बताउनुभयो ।

सरकारले ढुवानीका क्रममा पशुचौपायालाई यातना भएको निष्कर्ष निकालेर मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । कार्यान्वयन नहुँदा गलत तरिकाले ढुवानी गर्ने कुनै पनि व्यापारी तथा ढुवानीकर्ता कारबाहीमा पर्न सकेका छैनन् ।

नेपालका राजमार्ग हुँदै हरेक दिन हजारौँको सङ्ख्यामा पशुको ओसारपसार गरे पनि कारबाही भने हुन नसक्दा कानुन कार्यान्वयनका पक्षमा ठुलो चुनौती देखिएको उहाँले स्पष्ट पार्नुभयो । पैदल ढुवानी गर्दा गाईभैँसीलाई दिनको अधिकतम २५ किलोमिटर, भेडाबाख्रालाई ३० किलोमिटर अनि सुँगुरबङ्गुरलाई १२ किलोमिटरभन्दा धेरै हिँडाउन नपाउने व्यवस्था छ । त्यसको समेत कार्यान्वयन हुन सकेको छैन । 

पशुसँगको व्यवहार गर्दा भोक, प्यास, डर, त्रास र तनाव हुन दिन नहुने निर्देशिकामा उल्लेख छ । पशु कल्याणका नियम कागजमै सीमित भएको पशु अधिकारवादी राजानन्द माण्डव्यको गुनासो छ । उहाँले एउटा ट्रकमा १६/१७ वटाभन्दा धेरै हाल्न नपाउने भए पनि तर ढुवानी खर्च जोगाउने नाममा ४०/४२ राँगा कोचेर ल्याउने क्रम अझ नरोकिएको उल्लेख गर्नुभयो । 

रातको समयमा ल्याउने र पशु क्वारेन्टाइन चेकपोस्टले राम्ररी जाँच गर्न नसकेको दाहालले उल्लेख गर्नुभयो । ढुवानी गर्नेले पाँच हजार रुपियाँ जरिबाना तिरिदिने गरेकाले खासै चर्चामा नआउने उहाँले दाबी गर्नुभयो । पाँच हजार रुपियाँमा पशुको अधिकार खोस्न नमिल्ने भएकाले सरकारी निकायले यसमा ध्यान दिन उहाँले अनुरोध गर्नुभयो । 

पशु चिकित्सक डा. मनोजकुमार शाहीले पशु कल्याणका नियम अलपत्र परेको उल्लेख गर्नुभयो । उहाँले नियम बने पनि कार्यान्वयन गर्ने संरचनाको अभावमा समस्या बढिरहेको उहाँले स्पष्ट पार्नुभयो । विश्वमा पशुको ढुवानी, खेलमा प्रयोग गर्ने विषयमा एउटा मान्यता स्थापित भए पनि नेपालको भने त्यो कार्यान्वयनमा समस्या देखिएको उहाँको दाबी छ । 

पशु कल्याणको विषय मूलतः पशु अधिकारसँग जोडिएको हुने भएकाले पशुलाई उचित व्यवहार गरेर पालनपोषण गर्दा पशुपालक किसान वा व्यवसायीलाई आर्थिक फाइदा अझ बढ्ने भए पनि त्यसमा कुनै निकायले चासो नदिएको उहाँले उल्लेख गर्नुभयो । 

पशुको उत्पादकत्व पशु कल्याणसँग पनि निर्भर हुने खुसी पशुले जति धेरै दुध दिन्छ रोगी वा पीडामा परेकाले दिन नसक्ने पशु प्राविधिक राजेश लम्साल बताउनुहुन्छ । उहाँले तनावमा भएका बेला पशुको दुध उत्पादन घट्ने तथा मासुका निम्ति पालिएका पशुको स्वाभाविक वजन बढ्न नसक्ने उल्लेख गर्नुभयो । पशु सेवा विभागका अनुसार नेपालमा गाईगोरु ७४ लाख तथा राँगाभैँसीको सङ्ख्या ५१ लाखभन्दा धेरै छ । भेडाबाख्राको सङ्ख्या झन्डै डेढ करोड तथा सुँगुरबङ्गुर १५ लाख तथा हाँसकुखुरा साढे छ करोडको सङ्ख्या छ । 

काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, काठमाडौँ, गड्डाचौकी गरी आठ स्थानमा क्वारेन्टाइन छन् । क्वारेन्टाइन महाशाखाले २८ वटा चेकपोस्टबाट सेवा दिइरहेको छ । पशु ढुवानीको अवस्था अहिले पनि खासै सुधार हुन सकेको छैन ।