• १ माघ २०८१, मङ्गलबार

बोक्सी कुप्रथाको कथा ‘अग्निदहन’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २३ गते । चलचित्र ‘अग्निदहन’ को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्निदहन’ को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।

दुई मिनेट ३६ सेकेन्डको ट्रेलरमा नाच्दै गरेकी एक महिला अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको अनेक मानसिक यातनालाई समेटिएको छ । समाजसेवीको भूमिका निभाएका प्रकाश घिमिरेले ‘बोक्सी अन्धविश्वास हो’ भनिरहँदा समाजले धामीझाँक्री लगाउन भन्दै उनलाई दिइएको अनेक यातनालाई ट्रेलरमा स्थान दिइएको छ । 

बोक्सीको आरोप लगाइएकी माइली दमिनी भनिएकी महिला प्रमिला तुलाचनले चलचित्रकी कलाकार अनुपमा भण्डारीलाई ‘अञ्जली म तिमीलाई लिन आएको’ भन्दै बोलाउन थालेपछि अनुपमामा देखिएको त्रासलाई ट्रेलरमा देखाइएको छ । बोक्सीको आरोप लागेपछि महिला कतिसम्म विक्षिप्त हुन्छन् भन्ने कुरा ट्रेलरमा प्रस्तुत गरिएको छ ।

चलचित्रका निर्देशक घनश्याम लामिछाने हुनुहुन्छ । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी अभियानका रूपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उहाँले बताउनुभयो । चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बाँस्तोला, डा. निर्मल लामिछाने, ताराहादुर गुरुङको अभिनय छ ।

राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन छ । नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसक्नुभएको चलचित्रलाई विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।