• २८ कात्तिक २०८१, बुधबार

ढुङ्गे मूर्ति बगैँचा बनाएर बेवास्ता

blog

सोमेश्वरगढीमा लेउले पुरिएर चिन्न नसकिने अवस्थामा पुगेको शिवपार्वतीको मूर्ति ।

नारायणगढ, कात्तिक २३ गते । धार्मिक तथा सामारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको माडीको सोमेश्वर गढीमा निर्माण गरिएका ढुङ्गाका मूर्तिहरू संरक्षण र सरसफाइका अभावमा जीर्ण बन्दै गएका छन् । सोमेश्वर गढीलाई पर्यापर्यटन क्षेत्र बनाउने उद्देश्यले पाँच वर्षअघि कार्यशाला गोष्ठी नै आयोजना गरेर बनाइएका ढुङ्गाका मूर्तिहरू जीर्ण मात्रै भएका छैनन्, कतिपय त पुरिएर हराउने अवस्थामा छन् । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले कतिपय मूर्तिहरूलाई बर्सेनि सरसफाइ गरिनुपर्नेमा त्यो हुन नसकेको बताउनुभयो । माडीका बासिन्दासमेत रहनुभएका प्रमुख महतोले माडी नगरपालिकाले ती मूर्तिको नियमित संरक्षण र प्रवर्धन नगरेको आरोप पनि लगाउनुभयो ।

“कतिपय मूर्तिलाई लेउले ढाकेको छ भने कतिपय मूर्तिहरू झाडीले देख्न नसक्ने अवस्थामा छन्, विभाग प्रमुख महतोले भन्नुभयो, “यसको संरक्षण र प्रवर्धन गर्ने जिम्मा माडी नगरपालिकाको हो । यसतर्फ नगरपालिकाको ध्यान पुग्न जरुरी छ ।”

सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यभित्र सोमेश्वरगढी पनि सूचीकृत छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको यो क्षेत्रमा पूर्वाधार विकाससँगै पर्यटकलाई आकर्षित गराउन २०७६ सालको मङ्सिर महिनामा त्यहाँ ५० भन्दा बढी ढुङ्गाका मूर्ति कुँदिएका छन् । माडीमा मूर्तिहरूको बगैँचा बनाउने उद्देश्यले १८ दिन लगाएर ३२ जना मूर्तिकारमार्फत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा माडी नगरपालिकाले ती मूर्ति कुँदाएको हो । 

माडीका पत्रकार सूर्य पाठक सोमेश्वरगढी उक्लने ठाउँमै मूर्तिहरूसँगै रहेको रेलिङ भाँचिदा पनि यसको मर्मत नभएको गुनासो गर्नुहुन्छ । “मूर्ति त नियमित सरसफाइ भएन, भएन त्योसँगै रहेको रेलिङ पनि भाँचिएर काम नै नलाग्ने हुँदा पनि मर्मत सम्भार हुन सकेको छैन,” उहाँले भन्नुभयो । रेलिङ गढी उक्लने सिँढीमा छ । सिँढीसँगै मूर्तिहरू छन् । मूर्तिमा विशेष भगवान्का मूर्तिदेखि राष्ट्रियता झल्कने वस्तुहरू समेटिएका छन् । 

भारतसँगको सीमा क्षेत्रमा रहेको यो क्षेत्रमा सीमा सुरक्षाका लागि लडेका वीर योद्धाहरूको सालिक र बाघ, गैँडा जस्ता वन्यजन्तुको मूर्ति ढुङ्गामा कुँदिएका छन् । भारतसँगको सीमा क्षेत्रमा रहेकाले यो क्षेत्र धार्मिक तथा सामरिक रूपमा पनि महत्वपूर्ण छ । सोमेश्वर क्षेत्रको करिब दुई किलोमिटर क्षेत्रमा पर्यटकीय संरचना ढुङ्गाबाटै बन्ने गरी मूर्तिहरू बनाइए पनि  अहिले यी सबै संरक्षणको अभावमा भग्नावशेष हुने हो कि भन्ने चिन्ता स्थानीय  बासिन्दामा छ । 

नेपाललाई अङ्ग्रेजबाट बचाउनका लागि भारतसँगको सीमा क्षेत्रमा पाल्पाका राजा मुकुन्दसेनले यो गढी निर्माण गरेका हुन् भन्ने विश्वास सर्वसाधारणमा छ । इतिहासकार डा. विष्णुप्रसाद घिमिरेले लेख्नुभएको एक पुस्तकमा यो गढी अंशुबर्माका पालादेखिकै भएको उल्लेख छ । 

“लिच्छवि शासकहरू नेपालमा यही बाटो भएर भित्रिएका र पछि यसलाई राजा अंशुबर्माले ब्यापारको नाकासमेत बनाएको देखिन्छ,” डा. घिमिरेले आफ्नो किताबमा उल्लेख गर्नुभएको छ । सोमेश्वर गढीमा अहिले भेटिने दरबारको अवशेष, गढी, इनार, कुवा आदिले पनि यहाँ कुनै बेला मानव बस्ती थियो भन्ने देखाउँछ । पण्डित सुदर्शन सुवेदी भन्नुहुन्छ, “वराह पुराणमा उल्लेख भए अनुसार यो चन्द्रमाले शिव भगवान्लाई स्तुति गरेर शिव भगवान् प्रकट भएको क्षेत्र हो । 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको घना जङ्गलभित्र रहेको यो क्षेत्र सीमा क्षेत्र रहेकाले पनि यसको विकास र संरक्षण हुनु जरुरी छ । यसको विकास र संरक्षण पर्यटनकै माध्यमबाट गराउने उद्देश्यले बनाइएका मूर्तिहरू संरक्षण हुन नसकेपछि यसको आकर्षण घट्ने चिन्ता सर्वसाधारणमा छ । 

सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोख्रेलले मूर्तिहरूको मर्मत सुधारमा कुनै बजेट नभएको बताउनुभयो । “समितिसँग आफ्नो छुट्टै बजेट केही छैन । सङ्घीय सरकार तथा स्थानीय सरकारले यो शीर्षकमा बजेट दिएका छैनन्,” उहाँले भन्नुभयो । मूर्तिहरूको सरसफाइ गर्न विशेष केमिकल आवश्यक पर्ने भएकाले त्यो केमिकलसमेत खरिद गर्ने बजेट आफूहरूसँग नभएको गुनासो उहाँको छ ।  

माडी नगरपालिकाका सूचना अधिकारी प्रवीण सन्नाटा भने नगरपालिकाले चालु आर्थिक वर्षमा मन्दिर क्षेत्रमा रहेका मूर्तिहरूको सरसफाइ र व्यवस्थापनका लगि केही बजेट विनियोजन भएको दाबी गर्नुहुन्छ ।