टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक २१ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मीले सर्वसम्मत नेतृत्वको कसरत जारी राखेको छ ।
प्रतिष्ठानको आगामी कार्यकालको लागि कात्तिक २२ गते आठौं जिल्ला अधिवेशनको आयोजना गरिएको छ । लोकदोहोरी गायिका शिलु भट्टराईको नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मीको नेतृत्व रहेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मीका पूर्व अध्यक्ष जनक पन्थका अनुसार अहिलेसम्म बर्तमान प्रथम उपाध्यक्ष मोहन बस्नेत, कोषाध्यक्ष लोकेन्द्र कुँवर र पूर्व कोषाध्यक्ष हरि खत्रीले नेतृत्वमा आशा देखाएकाले संगठनको बिधि, प्रक्रिया र आवश्यकताको आधारमा नेतृत्वको खोजी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेसम्म निर्वाचन हुन दिएका छैनौं, अहिले पनि संवाद र छलफल जारी छ । सबैका आशा र चाहना भित्रबाट निकास निकाल्छौ ।” पत्रकार सम्मेलनमार्फत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अध्यक्ष शिलु भट्टराईले अधिवेशनको बारेमा जानकारी गराउनुभयो ।
आगामी २२ गते बृहत साँस्कृतिक कार्यक्रम गर्ने, पूर्वसन्ध्यामा बिरामीलाई फलफूल वितरण र सरसफाइसहितका कार्यक्रम आयोजना गरिएको भट्टराईले बताउनुभयो । अधिवेशनको अवसरमा बिगतदेखि गर्दैआएको उत्कृष्ट सदस्यलाई सम्मान र उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गुल्मीका पूर्वअध्यक्ष खुम खत्रीले जिल्लाको कला सँस्कृतिको संरक्षण, ग्रामीण भेगमा रहेका प्रतिभालाई प्रतिष्ठानमा जोड्दै लैजाने, स्रष्टाहरुको सम्मानलाई निरन्तरता दिँदै मेला महोत्सवलाई गुल्मेली सँस्कृतिमय बनाउनु अबको नेतृत्वको मुख्य कार्यभार रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानले गर्न पर्ने थुप्रै कामहरु भएकाले योजनावद्ध रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष तथा राष्ट्रिय कलाकार पुस्कल शर्मासहितका डेढ दर्जन कलाकारहरुको सांगीतिक प्रस्तुति रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गुल्मीका प्रथम उपाध्यक्ष मोहन बस्नेतले जानकारी दिनुभयो ।
उहाँले तम्घासको लाँकुरीमञ्चमा हुने साँस्कृतिक कार्यक्रम निःशुल्क हेर्न पाइने बताउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मी २०६२ सालमा स्थापना भएको थियो । संस्थाका साधारण सदस्य चारसय र आजिवन सदस्य १८० रहेका छन् ।