टेक्सास, कात्तिक २१ गते । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् ।
उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्वाकांक्षी आर्थिक लक्ष्य पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ । टेस्लाको वार्षिक सेयरधनी बैठक बिहीबार सम्पन्न भएको थियो ।
बैठकमा करिब ७५ प्रतिशतभन्दा बढी सेयरधनीले मस्कको स्टक-आधारित क्षतिपूर्ति योजनाको समर्थनमा मतदान गरे । परिणाम घोषणा भएपछि हल उत्साह र हर्षध्वनिले गुञ्जायमान भएको बताइएको छ । “म यो समर्थनका लागि अत्यन्त आभारी छु”, मस्कले मतदानपछि सेयरधनी र टेस्लाको सञ्चालक मण्डललाई धन्यवाद दिँदै भन्नुभयो ।
धेरै सिइओले जस्तो मासिक तलब वा बोनस नलिने मस्कको आम्दानी पूर्णरूपमा कम्पनीका सेयर विकल्पमा आधारित छ । नयाँ स्वीकृत प्याकेज अन्तर्गत टेस्लाले यदि ८५ खर्ब अमेरिकी डलरको बजार मूल्य हासिल गर्न सफल भयो भने उहाँलाई आगामी दशकमा ४२ करोड ३७ लाख टेस्ला सेयर प्राप्त हुनेछ-जसको मूल्य करिब १० खर्ब अमेरिकी डलर बराबर हुनेछ ।
यो लक्ष्य पुरा गर्नका लागि टेस्लाको सेयर मूल्य हालको स्तरबाट करिब ४६६ प्रतिशतले बढ्नुपर्नेछ, जसले कम्पनीलाई हाल विश्वकै सबैभन्दा ठूलो मूल्याङ्कन भएका एनभिडियाभन्दा पनि माथि पुर्याउनेछ । एनभिडियाको बजार मूल्य हाल करिब ५० खर्ब अमेरिकी डलर छ ।
यदि मस्कले स्टक अवार्डका सबै १२ किस्ता प्राप्त गर्नुभयो भने उहाँको दैनिक औसत आय करिब २७ करोड ५० लाख अमेरिकी डलर पुग्नेछ । यसलाई इतिहासकै सबैभन्दा ठूलो कार्यकारी तलब सम्झौता मानिनेछ । टेस्लाको सञ्चालक मण्डलले सेयरधनीलाई चेतावनी दिँदै उक्त योजना अस्वीकृत भए मस्क कम्पनीबाट टाढा जान सक्ने सम्भावना रहेको बताएका थिए ।
नियामक कागजातमा बोर्डले कि मस्कले आफूलाई प्रदान हुने नियन्त्रण र दीर्घकालीन प्रोत्साहनबिना सिइओको रूपमा निरन्तर रहनुपर्नेबारे चिन्ता व्यक्त गर्नुभएको उल्लेख गरेको छ । यद्यपि, यस्तो ऐतिहासिक स्वीकृतिका बिच पनि टेस्लाले चुनौतीपूर्ण वर्षको सामना गरिरहेको छ ।
सन् २०२५ मा विद्युतीय सवारीको सुस्त बजार माग, प्रतिस्पर्धाको तीव्रता र अमेरिकी सरकारको विद्युतीय सवारीप्रति प्रोत्साहनमा आएको कमीका कारण कम्पनीको बिक्री र नाफामा उल्लेखनीय गिरावट आएको सिएनएनले जनाएको छ ।
विश्लेषकका अनुसार यो तलब प्याकेजले मस्कलाई दीर्घकालीन रूपमा टेस्लासँग बाँधिराख्ने अपेक्षा गरिएको छ, तर कम्पनीको भविष्य अब पनि बजारको प्रवृत्ति, प्राविधिक नवप्रवर्तन र विश्वव्यापी आर्थिक स्थिरतामा निर्भर रहनेछ । रासस/एएनआई