• ५ जेठ २०८१, शनिबार

आदर्शमा चार वडासहित नेपाली कांग्रेस विजयी

blog

आदर्श गाउँपालिकामा विजयी अध्यक्ष गणेशबहादुर खड्का र उपाध्यक्ष लक्ष्मी धामी। तस्बिर : गोरखापत्र

केशवचन्द्र महरा 

दिपायल, जेठ २ गते । आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको हो । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गणेशबहादुर खड्का विजयी हुनुभएको छ । खड्का ३ हजार एक सय ५० मत सहित विजयी हुनुभएको हो । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार डम्बर ओलीले दुई हजार ९ सय ५० मत प्राप्त गर्नु भएको छ ।

नेकपा (माओवादी केन्द्र) उम्मेदवार योगेन्दबहादुर खड्काले ७ सय ८० मत मात्रै प्राप्त गर्नु भयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तारा प्रसाद ओझा १ सय ३७ मतमा सीमित रहनु भयो । विजयी खड्का नेपाली कांग्रेसका जिल्ला सचिव र निवर्तमान नेविसंघका अध्यक्ष हुन् ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मी धामी (रोकाया) तीन हजार ५१ मत सहित विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार जानकी खड्काले दुई हजार ९ सय ६१ मत प्राप्त गर्नु भयो ।

नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रमेश विष्टले ३ सय ३३ मत मात्रै प्राप्त गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कविता साउदले एक सय ५२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विजयी हुनुभएका लक्ष्मी नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वटा वडाहरु रहेको आदर्श गाउँपालिकामा ४ वडामा कांग्रेस र ३ वडामा एमाले विजयी भएको छ । वडा नम्बर १ मा कांग्रेसका भरत बहादुर खड्का विजयी हुनु भएको छ । वडा नम्बर २ मा एमाले उम्मेदवार रमेश साउद र वडा नम्बर ३ मा एमालेकै वीरेन्द्र प्रसाद पाठक विजयी हुनु भएको छ ।

त्यस्तै वडा नम्बर ४ मा कांग्रेस उम्मेदवारराजेन्द्र ओझा, वडा नं. ५ मा कांग्रेसकै उत्तमबहादुर सिंह विजयी हुनुभएको छ । वडा नं. ६ मा एमाले उम्मेदवार लालबहादुर खडायत र वडा नम्बर ७ मा कांग्रेस उमेदवार लालबहादुर विष्ट विजयी हुनु भएको निर्वाचन अधिकृत दुर्गादत्त विष्टले जानकारी दिनुभयो ।

२०७४ को निर्वाचनमा आदर्श गाउँपालिकामा ६ वटा वडा सहित नेकपा एमाले विजयी भएको थियो भने कांग्रेसले एउटा वडा मात्रै जितेको थियो । आदर्श गाउँपालिका नेकपा (एमाले)का जिल्ला अध्यक्ष चक्र मल्ल र नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्र सिंहको गृह पालिका हो । एमालेको गढका रूपमा चिनिने उक्त गाउँपालिकामा कांग्रेसले ४ वटा वडा सहित अध्यक्ष उपाध्यक्ष जितेपछि एमालेको विरासत गुमेको छ ।