• ७ मंसिर २०८१, शुक्रबार

मन्दिर एक, स्वरूप अनेक

blog

आज कात्तिक औँसी अर्थात् सुखरात्री । यस दिन हिन्दुहरूले विशेष हर्सोल्लासका साथ घरघरमा महालक्ष्मीको आह्वान गरी पूर्ण भक्तिभावका साथ पूजा अर्चना गर्ने गर्छन् । समृद्धि, वैभव र सम्पन्नताको कामनासहित पूर्ण समर्पण भावले महालक्ष्मीको पूजा आरधाना गर्ने गरिन्छ । 

यसै दिन ललितपुर थसिखेलस्थित महालक्ष्मी मन्दिरमा पनि विशेष पूजाआजाका लागि भिड लाग्ने गर्छ । यस मन्दिरको विशेषता नै विशेष किसिमको रहेको छ । दसैँको नवरात्रमा महाकाली र विश्वकर्मा बाबाको रूपमा पुजिने यस मन्दिरमा तिहारका औँसीका दिनमा भने महालक्ष्मीको स्वरूपमा देवीको विशेष पूजा अर्चना गरिन्छ । यस दिन बिहान २ बजेदेखि मध्यरातसम्म नै यहाँ उत्तिकै भिड लाग्ने गर्छ । यसबाहेक भाद्र शुक्ल सप्तमीका दिनबाट आराधना गरिने १६ दिने महालक्ष्मीको व्रत पूजामा पनि यहाँ विशेष भिड लाग्ने गरेको छ । 

दसैँमा महाकालीको र असोजमा विश्वकर्माका रूपमा पूजा गर्दा भने बली दिने चलन भए पनि तिहारको पूजामा भने निकै सात्विक भावले गर्ने गरिन्छ । कुनै बली दिइँदैन । त्यस्तै, चैतको रामनवमीका दिन महालक्ष्मीको खट जात्रा मनाउने गरिन्छ । यो जात्रा मनाउनुभन्दा चार दिनअघि नै ललितपुरको थति टोलका पोडे समाजको गुठीमा रहेको श्री महालक्ष्मीलगायत १२ पीठका प्रतीक स्वरूप १२ वटा मुकुण्डो र सिघिँनी÷बाघिनीका दुई वटा काठका मुकुण्डो कउयागुननी टोलका महर्जनलाई लिई आकृति बनाउन चित्रकारकोमा पठाउने गरिन्छ । रामनवमीको दिन विशेष किसिमले सिँगारिएको गणसहित महालक्ष्मीको ती मुकुट खटमा राखी पिम्बहालका बज्राचार्यद्वारा विशेष पूजापाठ गराइन्छ । सोही अवसरमा अमात्यहरूबाट विशेष भोजभतेरसमेत आयोजना गरी सबै समुदायका मानिस सहभागी भई भोज खाएपछि खट जात्रा सुरु गर्ने गरिन्छ । उक्त खटलाई सहरका विभिन्न भागमा घुमाउने प्रत्येक सहरवासीको घरदैलोमा पु¥याउने परम्परा छ । यो परम्पराले सामाजिक सहअतित्वलाई कायम राख्दै आएको छ । 

यस मन्दिरमा हिन्दु धर्मावलम्बीको मात्र होइन बौद्ध धर्मावलम्बीको पनि उत्तिकै आस्था र विश्वास रहँदै आएको छ । त्यसैले यहीँबाट द्विपङ्कर जात्रा सुरु गरिन्छ । करिब २४७ वर्षअघिदेखि रोकिएको यो जात्रा २०६७ सालदेखि भने निरन्तर सञ्चालनमा रहेको व्यवस्थापन समितिले जनाएको छ । यो जात्रा असोज शुक्लपूर्णिमा, आस्विनी नक्षत्र, कृष्ण योग, आदित्यबार र सङ्क्रान्ति जस्ता पाँच महायोग एकै दिन परेपछि यो जात्रा पुनः मनाउन थालिएको हो । यो जात्रा सञ्चालनमा ललितपुरको हिरण्यवर्ण महाविहारको प्रमुख संलग्नता रहने गर्छ । यसबाट यो मन्दिर हिन्दु र बौद्ध धर्मावलम्बीबिचको धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ । त्यस्तै यहाँ प्रत्येक १२ वर्षमा गोर्खास्थित मनकामनाबाट पूजा सामग्री ल्याउने प्रचलनसमेत रहेको व्यवस्थापन समितिले जनाएको छ । 

प्यागोडा शैलीको डाचीअप्पा प्रयोग भई बनेको यस मन्दिर स्थापनाको सम्बन्धमा विभिन्न मत रहेको पाइन्छ । इतिहासविद् प्राज्ञ डा. जगमान गुरुङका अनुसार गुणकामदेवको पालामा यो मन्दिर स्थापना भएको अनुमान गरिन्छ । राजा गुणकामदेवको समयमा कान्तिपुर (काठमाडौँ) खड्गआकार, भक्तपुर शङ्ख आकारमा र ललितपुर स्वस्तिक आकारमा निर्माण भएको थियो ।  पुल्चोकदेखि त्यागल र कुम्भेश्वरदेखि लगनखेलसम्म विकास गरेर स्वस्तिक आकार दिएको विभिन्न अध्ययनले देखाएको गुरुङको भनाइ छ । 

तत्कालीन समयमा सहरवासीको रक्षाका लागि सहरको बाहिरी भागमा अष्टमात्रिका (ब्रह्मायणी, महेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्रायणी, चामुण्डा र महालक्ष्मी) र भित्री वृत्तमा दस महाविद्या (काली, तारा, त्रिपुरासुन्दरी, धूमावती, बङ्गलामुखी मातङगी र कमला) को स्थापना गरेको पाइन्छ । यसै क्रममा थसिखेलमा महालक्ष्मीको मन्दिर स्थापना भएको अनुमान गर्न सकिने गुरुङ भनाइ छ । 

लिच्छविकालीन शासक राजामानदेवको समयकालमा नै यो मन्दिर निर्माण भएको अनुमान पनि एकथरीले गरेका छन् । संस्कृतिविद् सत्यमोहन जोशीले जीवित हुँदा मल्लकालमा उपत्यकाको रक्षाका लागि शक्तिस्वरूपमा देवी स्थापना गर्ने क्रममा ललितपुरको पूर्वमा बालकुमारी, दक्षिणमा महालक्ष्मी, पश्चिममा विष्णुदेवी र उत्तरमा चमुण्डादेवीको स्थापना गरिएको भन्ने सुन्दै आएको बताउनुहुन्थ्यो । 

प्राध्यापक जनकलाल वैद्यले लेख्नुभएको पुस्तक खेलु इतामा भने महालक्ष्मी मन्दिरको स्थापना करिब ३२२ वर्षपहिला मल्लकालमा भएको अनुमान गर्न सकिने उल्लेख छ । मन्दिर परिसरमा भेटिएको शिलालेख अनुसार यो मन्दिरको स्वरूप १७३२ मा भएको र १७५७ मा पाटनका राजा योग नरेन्द्र मल्लको आज्ञाले मन्दिरमा सुनको गजुर बनाएको उल्लेख भएको महालक्ष्मी व्यवस्थापन समितिद्वारा प्रकाशित महालक्ष्मी दर्पणमा उल्लेख छ । मन्दिरका टुँडाललाई नियाल्द यो मन्दिर त्यति बेलाका अन्य मन्दिर जस्तै तान्त्रिक विधिबाट निर्माण भएको मानिन्छ । 

महालक्ष्मी व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेका आत्मराम कोइलाराका अनुसार उपत्यकाभित्रका अष्टमहालक्ष्मीमध्ये यो पनि प्रमुख महालक्ष्मी मन्दिर मानिन्छ । यसबाहेक भक्तपुर, पनौती, लुभु, टङ्गाल मच्छिन्द्रबहाल, थानकोट, बोडे, साँखुमा महालक्ष्मीका मन्दिर स्थापना भएका छन् । थसिखेलमा रहेको यस मन्दिरमा कुनै आकृति कुँदिएको मूर्ति भने छैन । चुचो परेको ढुङ्गाको स्वरूपलाई नै माता महाकाल, महालक्ष्मी र विश्वकर्मा बाबाको नामले पूजा गरिँदै आएको छ । यद्यपि, विशेष चाडपर्वको समय र हरेक शुक्रबार साँझ हुने आरतीको समयमा भने चाँदीबाट बनेको मूर्तिलाई प्रतिस्थापित गरेर विशेष गरगहनाले सजाएर पूजाआजा गर्ने गरिएको छ । 

तीनतले मन्दिरको द्वार र टुँडाल निकै आकर्षक रूपमा निर्माण भएको देखिन्छ । पछिल्ला केही दशयता भने मन्दिर परिसरमा अन्य विभिन्न देवदेवी मूर्ति र ससाना मन्दिर बन्ने क्रम पनि बढेको देखिन्छ । 

करिब ११ रोपनी, ९ आना २ पैसा क्षेत्रफल रहेको मन्दिरको परिसरलाई सुव्यवस्थित र आकर्षक बनाउने काम मन्दिर व्यवस्थापन समितिले गर्दै आएको अध्यक्ष पुरुषोत्तम ढुङ्गानाको भनाइ छ । व्यवस्थापन समितिका अनुसार मन्दिरको पूर्व र दक्षिण भागमा रहेको पाटी र सत्तललाई पनि जीर्णोद्धार गराएर विभिन्न धार्मिक सांस्कृतिक कार्यका लागि प्रयोग गर्न सकिने छ । मन्दिरको घेरवारका लागि बलिया पर्खाल बनाइएको छ । मन्दिरको भित्री भागमा जथाभावी टाँसिएका टायल विस्थापित गरेर चाँदीको पाताले मोर्ने र माता महालक्ष्मीको स्वर्ण मूर्ति बनाउने अभियानमा दातासँग सरसहयोग र चन्दा सङ्कलनको काम भइरहेको अध्यक्ष ढुङ्गानाको भनाइ छ ।

स्थानीय तहको गठन भएसँगै यस मन्दिरको विकास निर्माणको काम पनि विशेष प्राथमिकतामा पर्दै आएको छ । यो मन्दिर ललितपुर महानगरपालिका वडा नं ५ को सानका रूपमा रहेकाले यसको ख्यातिलाई देशविदेशसम्म फैलाउनका लागि विशेष गुरुयोजनाको साथमा काम अगाडि बढाइरहेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो । त्यस्तै मन्दिर परिसरमा एक सय वर्षभन्दा पुरानो अजङ्गको पिपलको रुखले यस क्षेत्रका बासिन्दलाई छहारी प्रदान मात्र गर्दै आएको छ । मन्दिरको स्वरूपमा सम्बन्धमा विसं १९९० को भूकम्पअघि मन्दिरको छानो झिङ्गटीको रहेको स्थानीय बुढापाकाले बताउँदै आएका छन् । अहिले भने तामाको छानो र सुनको जलप लगाइएको गजुरले मन्दिरको शोभा बढाएको छ । 

दसैँको नवरात्रीदेखि नै मन्दिरलाई मन्दिरको विशेष रूपमा सजाएर झिलिमिली बनाइएको छ । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि यस मन्दिरसम्म नै झिलिमिली बत्तीको सजावटले साँझको समय मनमोहक देखिन्छ । यस क्षेत्रको वातावरण उल्लासमय बनाइएको छ ।