• ३१ वैशाख २०८१, सोमबार

स्मृति वाटिका निर्माण अन्तिम चरणमा

blog

भक्तपुर (कटुञ्जे), चैत ५ गते । सुवर्णेश्वर डाँडामा निर्माण गरिएको गणेशमान सिंह स्मृति वाटिकाको निर्माण अन्तिम चरणमा पुगेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ र ६ मा रहेको यो वाटिकामा लौहपुरुष गणेशमान सिंहको पूर्णकदको सालिक पनि राखिसकिएको छ।

२०५४ सालमा गणेशमानको निधन भएपछि तत्कालीन कटुञ्जे गाउँ विकास समिति अध्यक्ष रामेश्वर ढुङ्गेलले वाटिका निर्माण गर्ने घोषणा गर्नुभएको थियो। सोही अवधारणाअनुसार कटुञ्जेको सुवर्णेश्वर मन्दिरसमेतलाई समेटेर त्यसभन्दा पूर्वको डाँडामा वाटिका निर्माण गर्न सबै राजनीतिक दलको समर्थनमा काम थालिएको थियो। 

सरकारबाट कुल १७४ रोपनी १५ आना जग्गामा वाटिका निर्माण गर्ने स्वीकृति प्राप्त भएपछि त्यसको गुरुयोजना बनाएर सोहीअनुसार धमाधम काम भइरहेको छ। जसअन्तर्गत स्वर्गीय गणेशमानको एक हजार दुई सय केजीको १२ फिट अग्लो ढलोटको सालिक ठड्याइएको छ। सालिक कलाकार महेश तुलाधरले तयार गर्नुभएको हो। 

वाटिका स्थलमा परम्परागत शैलीको आकर्षक प्रवेशद्वार, पार्कसम्म पुग्न सिँढी र अपाङ्गतामैत्री पैदल मार्ग, टिकट घर, सुरक्षाकर्मी गृह, पार्किङ क्षेत्र, शौचालय,  प्रतीक्षालय, दर्शन टुप्पो, बालबालिकाका लागि खेल मैदान, योग स्थल बनाइँदैछ। 

सुवर्णेश्वर मन्दिर भएको स्थानमा १०८ शिवलिङ, त्रिशूल, नन्दी र हनुमानका प्रतिमा रहने गरी काम भइरहेको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका सभापति माथवरसिंह बस्नेतले जानकारी दिनुभयो। यी सबै संरचना निर्माणका लागि करिब ३३ करोड रुपियाँ खर्च हुने अनुमान समितिले गरेको छ। लालीगुराँसलगायत विभिन्न प्रजातिका फूल, काफल, कटुस, ऐँसेलु, चुत्रोजस्ता विभिन्न प्रजातिका बोटबिरुवा, करिब ९९ प्रकारका चरा चुरुङ्गीको बासस्थानसमेत रहेकाले वाटिका खोज तथा अनुसन्धान गर्नेका लागि पनि उत्तिकै महìवपूर्ण स्थल साबित हुन सक्ने समितिका सदस्य पुरुषोत्तम लुइँटेलले बताउनुभयो। 

अरनिको राजमार्गको कोटेश्वर सूर्यविनायक खण्डमा पर्ने चुनदेवी वा पाण्डुबजारबाट करिब डेढ किलोमिटर दक्षिणमा पर्ने यो वाटिकामा पुस्तकालय र सङ्ग्रहालयसमेत निर्माण गर्ने योजना बनाइएको छ। चैत २६ गते जनआन्दोलन दिवसको अवसरमा वाटिकाको औपचारिक उद्घाटन गर्ने योजना छ।