• १६ भदौ २०८१, आइतबार

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

blog

काठमाडौँ, जेठ २ गते । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोेमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ । 

प्रधानमन्त्री देउवाले सोमबार औपचारिक उद्घाटन गर्नुभएपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल विधिवत् सञ्चालनमा आउनेछ । बुद्व जयन्तीका अवसरमा उद्घाटन हुन लागेको यस विमानस्थललाई लुम्बिनी प्रदेशसहित देशकै समृद्विको ढोकाका रूपमा हेरिएको छ ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार कुवेतबाट आउने जजिरा एयरवेज र काठमाडौँबाट जाने नेपाल वायुसेवा निगमको न्यारो बडी (३२०)को विमानलाई स्वागत गरेर विमानस्थलको औपचारिक उद्घाटनको तयारी छ ।

उहाँले भन्नुभयो, “करिब ७५ जना यात्रु बोकेर कुवेतबाट आउने एयर जजिराको जहाजलाई भैरहवा विमानस्थलमा स्वागत गरेर प्रधानमन्त्री, पर्यटनमन्त्री, नागरिक उड्डयन प्राधिकरणका प्रमुखलगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा विमानस्थलको औपचारिक उद्घाटन हुनेछ । झन्डै दुई घण्टापछि १४५ यात्रु बोकेर उक्त जहाज कुवेत फर्कनेछ ।”

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार औपचारिक उद्घाटन गर्नुभएपछि यो विमानस्थल विधिवत् सञ्चालनमा आउनेछ ।

यसअघि वैशाख १५ गते निगमको वाइड बडी (३३०) विमानले भैरहवा विमानस्थलमा डेमन्स्ट्रेसन उडान सम्पन्न गरेको थियो । विमानस्थलको उद्घाटनपछि बोइङ तथा एयरबसका जहाज गौतमबुद्व विमानस्थलमा उडान र अवतरण गर्न सक्ने महाप्रबन्धक दाहालको भनाइ छ । विमानस्थल उद्घाटनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले उद्घाटन व्यवस्थापनको जिम्मा इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई दिएको छ । 

तीन हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग रहेको यो विमानस्थल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सुरुवाती लक्ष्यअनुसार तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ सालमा शिलान्यास गर्नुभएको थियो । आर्थिक वर्ष २०७२÷७३ देखि निर्माण सुरु भएको यो विमानस्थल एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा करिब ३१ अर्ब रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएसँगै ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ जडित यो विमानस्थलमा अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजसमेत अवतरण हुन सक्ने छन् । त्यस्तै भिजिबिलिटी, रनवेलगायतका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजले नेपालबाहिर डाइभर्ट हुनुपर्ने अवस्थाको समेत अन्त्य भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल काठमाडौँमा जहाज अवतरणका लागि ११ किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ । यो विमानस्थलमा अवतरण हुन छ किलोमिटर भिजिबिलिटी भए पनि जहाज सहजै अवतरण हुन सक्ने छन् । हाललाई विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरण आफैँले गर्नेछ भने ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमले गर्नेछ । त्यस्तै फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले गर्नेछ । विमानस्थलमा कार्गाे व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने तयारी छ ।

निगमको पहिलो व्यावसायिक उडान

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको न्यारो बडी ३२० ले पहिलो व्यावसायिक उडान गर्दै छ । सोमबार बिहान काठमाडौँबाट जाने नेपाल वायुसेवाको विमानले पहिलो व्यावसायिक अवतरण गर्नेछ । यसअघि जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान गर्ने तयारी रहेको थियो ।

निगमले भैरहवा उडानको तयारीअनुसार हवाई भाडा सार्वजनिक गर्दै बिहीबार साँझदेखि टिकट बिक्रीसमेत खुला गरिसकेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार सोमबार बिहान ६ बजे काठमाडौँबाट उडान भर्ने निगमको उक्त जहाज उद्घाटन सत्रमा सहभागी भएर ८ बजे काठमाडौँ फर्किनेछ । निगमले काठमाडौँ–भैरहवाको इकनोमी श्रेणीको एकतर्फी टिकट चार हजार ५१० रुपियाँ र बिजनेस श्रेणीको भाडा सात हजार ४० रुपियाँ तोकेको छ ।


Author

मीनराज भण्डारी