• ५ जेठ २०८१, शनिबार

धनुषाको १८ वटै पालिकामा मतगणना जारी

blog

जनकपुरधाममा जारी रहेको मतगणना ।

धर्बेन्द्र झा 

धनुषा, जेठ १ गते । धनुषाको १८ वटै पालिकामा मतगणना जारी रहेको छ । धनुषाको १० वटा पालिकामा नेपाली काँग्रेस, दुई वटामा नेकपा एमाले, दुईमा जसपा र लोसपा, एक वटामा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवारको अग्रता छ । 

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसबाट राजीनामा दिएर मेयर पदमा घन्टाघर चुनाव चिन्ह लिई स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोजकुमार शाह अगाडि हुनुहुन्छ । शाहले १ हजार २ सय ६४ मतसहित अग्रता हासिल गर्नुभएको हो । उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार शिवशङ्कर शाह हीराले ६ सय ३८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी, आँप चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गर्नुभएको छ । उपमेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार किशोरी शाह १ हजार ३ सय ६२ मतसहित अग्र स्थानमा रहनुभएको छ भने उहाँलाई नेकपा एमालेका उम्मेदवार रुना झाले ६ सय ७५ मत ल्याई पछ्याउँदै हुनुहुन्छ । 

आँप चुनाव चिन्ह रहेका उपमेयर पदका स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ५ सय ५ मत प्राप्त गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा रहेको २५ वडामध्ये आईतबार चार बजेसम्ममा २ वटा वडाको मत परिणाम मात्र सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका १ मा नेपाली काँग्रेसका दीपनारायण यादवले एक हजार १४३  मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लभ अधिकारीले ५४१ मत प्राप्त गर्नुभएको हो । 

त्यसैगरी, वडा नम्बर २ मा नेपाली काँग्रेसका शिवकुमार शाहले ६६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एसका अशोक गुप्ताले २९५ मत ल्याउनुभएको हाे । वडा नं.३ मा तमलोपाका दीपेन्द्र शाह विजयी भए पनि औपचारिक घोषणा हुन बाँकी छ । जिल्लाभरिमा मतगणनाको क्रम निक्कै सुस्त भएकाले मत परिणाम आउनमा ढिलाइ भएको छ । 

प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले दिनुभएको जानकारी अनुसार कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सरददेव यादव, क्षिरेश्वरनाथ नगरपालिका १ मा नेपाली काँग्रेसका मुवारक कवाडी, नगराईन नगरपालिका १ मा नेपाली काँग्रेसबाट सीताराम महतो, बटेश्वर गाँउपालिका १ मा नेपाली काँग्रेसका अशोककुमार महतो, मिथिला नगरपालिका १ मा नेपाली काँग्रेसका जोगी महतो, लक्ष्मीनियाँ गाँउपालिका १ मा नेकपा एमालेका दिलिप यादव, २ मा नेकपा एमालेकै लालजी साह तेली, विदेह नगरपालिका १ मा नेकपा एमालेका सञ्जय पाण्डे, वडा नं.२ मा रामपुकार सहनी, शहीदनगर नगरपालिका १ मा नेपाली काँग्रेसका तेजीलाल यादव र हंसपुर नगरपालिका १ मा जसपाका रामदेव कापर विजयी हुनभएको छ ।