• ५ जेठ २०८१, शनिबार

नेपालगञ्जमा गठबन्धनको फराकिलो अग्रता

blog

नेपालगञ्जमा गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार प्रशान्त विष्ट । तस्बिर : गोविन्द शर्मा । बाँके

बाँके समाचारदाता

बाँके, जेठ १ गते ।  नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनले अग्रता फराकिलो बनाएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मत प्राप्त गर्नुभएको हो । 

राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपति दयाल मिश्राले ९६८ मत पाउनुभएको छ । उपप्रमुखमा गठबन्धनका तर्फबाट जसपाका कमरुद्धिन राईले एक हजार ४४२, राप्रपाका विन्दु चर्ती मगरले एक हजार ८४ र नेकपा एमालेका शान्ति ढकालले ८८४ मत प्राप्त गर्नुभएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामध्ये वडा नम्बर २२ र २३ को गणना सकिएको छ । नेपालगञ्जमा ८१ हजार ७९४ मतदाता मध्ये  ६१ हजार २०५ मत खसेको छ । 

कोहलपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेको ९६१, नेपाली काँग्रेसका पुर्ण आचार्यको ८११ र नेकपा एमालेका खिलप्रसाद भुसालको ८०९ मत आएको छ । 

राप्ती सोनारी गाउँपालिकामा एमालेका रामदास थारुले तीन हजार १९४, नेपाली काँग्रेसका तप्त पौडेलले दुई हजार ९७१ र नेकपा माओवादी केन्द्रका पट्टु थारुले एकहजार ५६१ मत प्राप्त गर्नुभएको हो ।

यस्तै, जानकी गाउँपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले एक हजार २५७, जसपाका राजिवकुमार कर्मीको ७४१ र नेकपा एमालेका हिमांशु यादवले ४३० मत प्राप्त गर्नुभएको छ । 

डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसका पप्पु चौधरीको ७७७, नेकपा एमालेका सरोजकुमारी यादवको ७०७ र जसपाका भण्डारीलाल यादवको २६८ मत आएको छ । 

खजुरा गाउँपालिकामा नेकपा एमालेका सुमन मल्लको दुई हजार ६७१, नेकपा माओवादी केन्द्रका डम्बर विकको दुईहजार २४४ मत प्राप्त भएको छ । 

नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा भने शनिबारदेखि नै मतगणना स्थगित भएको छ । विवादपछि गणना स्थगित भएकोमा नरैनापुरमा पुनः सञ्चालन गर्ने सहमति भएको छ । 

बाँकेका ८१ वटा वडामध्ये आईतबार दिउँसोसम्म ७ वडाको मत परिणाम सार्वजनिक भएकाे छ जसमा काँग्रेस, एमाले र जसपा २-२ र नेकपा माओवादी केन्द्रले १ वटा वडामा जितेको छ । 

नेपालगञ्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई, नेपालगञ्ज उपमहानगरपालिका २३ मा काँग्रेसका जबर अलि बेहना, जानकी गाउँपालिका १ मा जसपाका मो. रजा राई, राप्ती सोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का, राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु, कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैशी र खजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री विजयी हुनुभएको छ ।