• १० कात्तिक २०८१, शनिबार

नेपालमा पटका भित्रिने जोखिम

blog

काठमाडौँ, कात्तिक ७ गते । यो वर्षको तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ । गत सालहरूमा हरेक जिल्ला प्रशासनले पटाकाजन्य पदार्थ नपड्काउन सामान्य सूचना जारी गरे पनि पटाका अवैध किनबेच र पड्काउने कार्य हुने गरेका थिए । यस पटक सरकारले देशव्यापी रूपमा सर्कुलर जारी गरेरै पटाकाजन्य पदार्थ ओसारपसार र प्रयोगमा बन्देज लगाउने तयारी गरेको छ । 

दसैँअघि नै नेपालबाट मनसुन बाहिरिसकेकाले मौसम सुक्खा र चिसो हुँदै छ । जसका कारण वायुमा सुक्खापनसँगै प्रदूषणको मात्रा बढ्न थालेको छ । वातावरण र मानिसको जिउधनमा असर पार्ने भएकाले पनि तिहारमा पटाकाजन्य पदार्थमा पूर्ण रूपमा बन्देज लगाइने तयारी सरकारले गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामी हरेक जिल्ला प्रशासनमा सर्कुलर पठाउने तयारीमा छौँ, सोही अनुसार पटाकाजन्य पदार्थको ओसारपसार र प्रयोगमा कडाइ गरिने छ ।”

नेपालको छिमेकी भारतमा गत सातादेखि नै पटाकाजन्य पदार्थ यो वर्षको दीपावली र आसपासका पर्वमा गर्न नपाइने गरी कडाइ गरिसकिएको छ । जसका कारण त्यहाँ उत्पादित पटाकाजन्य पदार्थ नेपालमा अवैध रूपमा भित्रिने खतरा उच्च रहेको छ । खुला सीमानाकाबाट तराईका जिल्लामा पटाकाजन्य पदार्थको ओसारपसार तीव्र बनेको स्थानीयले बताएका छन् । 

पटाकाजन्य पदार्थको अवैध ओसारपसारमा खुला सिमाना निकै चुनौतीपूर्ण रहेको गृह प्रवक्ता तिवारीले बताउनुभयो । भारत सरकारले बन्देज लगाएपछि यता त्यसको खपत बढ्ने सम्भावनालाई ध्यनमा राखेर सीमानाकामा पटाकाजन्य पदार्थको ओसारपसारका कडाइ गरिने जानकारी तिवारीले दिनुभयो । सीमानाकामा सुरक्षाकर्मीको डेस्क नै तैनाथ गरेर अवैध ओसारपसार नियन्त्रण गर्ने तयारी सरकारले गरेको उहाँले प्रस्ट पार्नुभयो । 

स्वास्थ्यका लागि हानिकारक 

पटाका पड्काएपछि एकछिन रमाइलो लागे पनि त्यसले दिने असर मानव जीवन र जगत्मा दीर्घकालीन हुने भएकाले पहिले नै सचेतना अपनाउनुपर्ने वातावरण विभागले जनाएको छ । 

मानिस र प्रकृतिका लागि आवश्यक स्वच्छ हावाको गुणस्तर खस्काउने मात्र नभई मानिसको जिउधनमा नै क्षति पुर्‍याउने खालका हानिकारक रसायन पटाकाजन्य पदार्थमा हुने विभागका उपमहानिर्देशक शैलेशकुमार झाले बताउनुभयो । त्यसैले पटाका पड्काउन पाइँदैन भनेर मात्र हुँदैन । त्यसको ओसारपसार र उपभोगमा निरन्तर अनुगमन आवश्यक रहने झाले औँल्याउनुभयो । 

उहाँले भन्नुभयो, “एकछिनको रमाइलोमा प्रयोग हुने रसायनले वातावरण क्षयीकरणसँगै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी क्यान्सरजन्य रोगको प्रभाव बढाइरहेको छ ।” त्यसैले वातावरण संरक्षणका हिसाबले मात्र पटाकाजन्य पदार्थमा प्रतिबन्ध लगाउने होइन कि मानव जीवनको रक्षाका खातिर पनि कडाइ गर्नै पर्छ । चाडबाडका मुखमा मात्र ध्यान दिने चलन हटाउँदै अलिक अगाडिदेखि नै त्यस्ता वस्तु ओसारपसारमा निरन्तर अनुगमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँका अनुसार मनसुनपछिको स्वच्छ वायुलाई खत्तम पार्ने काम पटाकाले गर्छ । मानव स्वास्थ्यका लागि हानिकारक रसायन हावाको माध्यमबाट मानव शरीरको सम्पर्कमा आएपछि त्यसले क्यान्सरलगायतका रोगको घर बढाउने उहाँले बताउनुभयो । छालाको क्यान्सर, स्वासप्रश्वासको क्यान्सर, घाँटीलगायतका क्यान्सर गराउँछ । उहाँले थप्नुभयो, “विभिन्न अध्ययनले दमका रोगीलाई त पटाकाको धुवाँ विष नै हो भन्ने पुष्टि भएको छ, खुत्रुक्कै पार्छ । आँखा पाक्ने रोगको प्रकोप पनि पटाकायुक्त वायुले बढाउँछ ।”

पटाकाको अनियन्त्रित र असावधानीयुक्त प्रयोगले बर्सेनि आगलागी बढाउने गरेको विभागले जनाएको छ । त्यसबाट पनि जनधनको क्षति बढ्ने गरेको छ । पटाका पड्काएपछि बाँकी रहेको ठोस पदार्थ वर्षाले बगाउँदै जाँदा त्यसले खेतीसँगै किसानको स्वास्थ्यमा असर गर्ने उपमहानिर्देशक झाले प्रस्ट्याउनुभयो ।