• ७ मंसिर २०८२, आइतबार

स्वास्थ्य मन्त्री डा.गौतम र जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता

blog

स्वास्थ्य मन्त्री डा.सुधा गौतम र जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता ।

काठमाडौँ, मङ्सिर ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतम र नेपालका लागि जापानका राजदूत महामहिम माइदा तोरुबीच आइतबार शिष्टाचार भेट भएको छ ।

उक्त भेटमा नेपाल–जापानबीचको स्वास्थ्य सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको छ। भेटका क्रममा मन्त्री डा.गौतमले दुई देशबीचको स्वास्थ्य क्षेत्रमा रहेको द्धिपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा गहन छलफल भएको मन्त्रालयले जनाएको थियो ।

 साथै, जापानले विगतदेखि नै नेपालप्रति देखाउँदै आएको सहयोगप्रति मन्त्री गौतमले विशेष आभार प्रकट गर्नुभयो ।

 उहाँले भूकम्पदेखि कोभिड–१९ महामारीजस्ता विपद्को समयमा जापानले उपलब्ध गराइ आएको सहयोग, साथै कान्ति बाल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भौतिक पूर्वाधार निर्माणमा पुर्‍याएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

छलफलका क्रममा मन्त्री डा.गौतमले नेपालका प्राथमिकतासहितका स्वास्थ्य क्षेत्रका एजेन्डा प्रस्तुत गर्दै मातृशिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षण क्षमता वृद्धि तथा जापानमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुरक्षाका विषयलाई विशेष महत्व दिइएको बताउनुभयो । उहाँले यी क्षेत्रमा द्विपक्षीय सहकार्य अझ मजबुत बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

राजदूत तोरुले नेपालको स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि जापान निरन्तर साथ दिन इच्छुक रहेको बताउँदै विशेषगरी राष्ट्रिय औषधी प्रयोगशालाको क्षमता विस्तार तथा जापानमा कार्यरत नेपाली श्रमिकहरूको स्वास्थ्य प्रवर्द्धन, परीक्षण तथा उपचारमा सहयोग गर्न सकिने स्पष्ट पार्नुभयो ।