काठमाडौँ, कात्तिक २४ गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप–३०) का लागि नेपालका प्रतिनिधि एजेन्डासहित पूर्ण तयारी अवस्थामा ब्राजिल पुगेका छन् । सम्मेलनको औपचारिक उद्घाटन कात्तिक २४ अर्थात् सोमबार ब्राजिलको बेलेम सहरमा हुँदै छ ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेका अनुसार यस पटक कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारको नेतृत्वमा नेपालले कोप–३० मा सहभागिता जनाउँदै छ । कोप अन्तर्गत बिहीबारदेखि उच्च नेतृत्वको बैठक जारी छ । जसमा एजेन्डालाई अन्तिम रूप दिन जलवायु परिवर्तनका पक्षमा वकालत गर्ने विज्ञहरू बहस गरिरहनुभएको छ । नेपालका तर्फबाट वन तथा वातावरण सचिव डा. राजेश मिश्रले नेपालको अपेक्षाबारे चर्चा गर्नुभएको थियो ।
अति कम विकसित मुलुकका लागि नेपालको प्रमुख सहजकर्ताका रूपमा विज्ञ डा. मन्जित ढकालले पैरवी गरिरहनुभएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार यस पटक नेपालका लागि दुई वटा कुरा बढी महत्वपूर्ण छन् । पहिलोमा जलवायु परिवर्तनका लागि अनुकूलनका मापक कसरी तय गर्ने भन्ने विषय महत्वपूर्ण रहेको सहसचिव डा. ढकालले जानकारी दिनुभयो ।
त्यस्तै गरेर हानिनोक्सानी कोषको परिचालनसँगै यसबाट लाभ लिन सकिने क्षेत्र र त्यसको प्रस्तावना पेस गर्ने प्रक्रिया अर्को महत्वपूर्ण विषय छ । विकसित मुलुक सबैले रकम जम्मा गरिनसक्दा खुम्चिएको कोषलाई बढाउन नेपालसहित अति कम विकसित मुलुकले उठाउने आवाज पनि महत्वपूर्ण रहेको ढकालले बताउनुभयो । हालसम्म दुई अर्ब ५० करोड डलर मात्र कोषमा जम्मा भएको छ । त्यो पनि यस पटक साना परियोजनाका रूपमा नोक्सानी बेहोरेका नेपालसहितका मुलुकलाई परियोजनागत प्रस्तावको मूल्याङ्कनका आधारमा वितरण गरिने भएको छ । सम्मेलन अन्तर्गत हुने अति कम विकसित मुलुकको बैठकमा नेपालले अध्यक्षको हैसियतमा आफ्ना धारणा प्रस्तुत गर्ने मन्त्रालयले प्रस्ट पारेको छ ।