• ३ मंसिर २०८२, बुधबार

खेतमै पराल जलाउँदा प्रदूषण

blog

काठमाडौँ, मङ्सिर ३ गते । देशभर चिसो बढ्दै गर्दा हुस्सु कुहिरोसँगै प्रदूषणयुक्त तुवाँलो पनि बढ्न थालेको छ । बर्खेधान काटेपछि देशभरका खेतबारी हिउँदे बालीका लागि तयार गर्न किसानले खेतमै रहेका लामा तथा ठुटा धानका पराल बाल्न थालेकाले प्रदूषणयुक्त तुवाँलो बढ्न थालेको हो ।

नेपालको सीमा जोडिएको भारतीय भूभागतिर अत्यधिक रूपमा परालका थुप्रो जलाउने चलन छ । वर्षाविहीन पश्चिमी वायुको बहावले त्यसरी बालिएको परालका काला कण हावासँग नेपालका विभिन्न भूभागमा पु¥याउन थालेकाले छिमेकी प्रदूषणसमेत नेपालका थपिँदै छन् । 

जल तथा मौसम विज्ञान विभागका अनुसार यति बेला नेपालमा वर्षा गराउनेखालको कुनै पनि प्रणाली सक्रिय छैन । जसले वायु सुक्खा हुँदै गएको छ । यस्तोमा जलाइएका पराल तथा कृषिजन्य झारबुट्यानका कण हावासँगै मिसिएर प्रदूषण बढाउन थालेको विभागकी मौसमविद् विभूति पोखरेलले बताउनुभयो । 

उहाँका अनुसार वर्षा नभएपछिको अवस्थामा हावामा जलवाष्पको कण कम हुन्छ । जसकारण रातमा समेत त्यो हावासँगै उडेर माथिल्लो वायुमण्डलसम्म पुग्छ । बिहान हुँदै आउँदा हुस्सु कुहिरोसँग मिसिएर तुवाँलो बनेर तल्लो वायुमण्डलमा आएर सूर्यको प्रकाश छेकेर वातावरण थप धुमिल बनाउने गर्छ । 

यस्तोमा किसानलाई धान काटिसकेपछि बचेको पराल र खेतमै रहेका धानका ठुटा नजलाउन सचेतना फैलाउनुपर्नेमा उहाँको जोड छ । उहाँले जस्तै कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार पनि नेपाली किसानले पछिल्लो समय भारतीय किसानको सिको गरेर खेतको पराल तथा झार बढी जलाउन थालिएको छ । जसले आन्तरिक रूपमै वायुप्रदूषणलाई बढावा दिइरहेको छ । 

पहिले पहिले त्यस्तो पराल गाईबस्तुका गोबरसँगै कुहाइन्थ्यो र मल बनाइन्थ्यो । अहिले पशुपालन घट्दै गएको र रासायनिक मलको प्रयोग बढ्दै गएकाले पनि किसानले जलाउनै सजिलो मान्न थालेको पाइएको रिमालले जानकारी दिनुभयो । त्यसको दूरगामी असरबारे कृषि तथा पशुपन्छी मन्त्रालयले किसानलाई सचेत बनाउनुपर्ने सुझाव उहाँ दिनुहुन्छ । 

उहाँले भन्नुभयो, “त्यसरी खेतबारीमा झारपात र पराल डढाउँदा निस्केको धुवाँले पहिले त किसानकै परिवार र उनीहरूकै समाजको स्वास्थ्यमा गम्भीर असर पारिरहेको हुन्छ भन्नेबारे उनीहरू सचेत छैनन् ।” अर्कोतर्फ त्यसरी बालेको परालका कण हावासँगै उडेर राजधानी काठमाडौँ जस्ता पहाडी उपत्यकाको खाल्डोमा पुग्दा बाहिर निस्कन नसकी लामो समयसम्म मानव स्वास्थ्यमा असर पार्ने गरेको छ । बर्सेनि उत्पन्न हुने समस्या सीमापारबाट समेत नेपाल आइदिँदा वायुप्रदूषण उच्च हुने गरेको उहाँ बताउनुहुन्छ । 

रिमालले थप्नुभयो, “मेसिनले काट्दा धानको गाँजमा फेदैदेखि भन्दा पनि एक फिटमाथि काट्ने गर्छ, बाँकी रहेको ठुटा फेरि काट्नुभन्दा खेतमै मल हुने भनेर नेपाली किसानले भारतीय किसानको सिको गर्दा त्यसले वायुप्रदूषण बढाउने गरेको छ ।”

पहाडमा पराल र ठुटा जलाउने चलन अझै कम रहे पनि खाद्यान्न भण्डार मानिने मधेश तथा पश्चिम र पूर्वी तराईमा खेतबारीमा जलाउने क्रम अत्यधिक बढ्दो रहेको उहाँले बताउनुभयो । त्यसका लागि सरकारको वातावरण विभाग, कृषि तथा पशुपन्छी मन्त्रालय दुवैले किसानलाई सहयोग गर्दै सिकाउनुको विकल्प नरहेको रिमालको ठहर छ । कृषि अनुसन्धान परिषद् (नार्क) ले त्यसरी पराल र तिनका ठुटा नजलाउन अपिल गरे पनि किसानसम्म त्यो सूचना पुग्न सकेको र पालना भएको पाइएको छैन ।