गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा उच्च पहाडी क्षेत्रको एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा भएको छ।
बिहीबार राति कोशी, बागमती, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा एवम् हिमपातको सम्भावना रहेको जनाइएको छ । तराई भू–भागका थोरै स्थानमा तुँवालो रहने बताइएको छ ।
शुक्रबार बिहान तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने बताइएको छ । यसैगरी, शनिबार बिहान तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने छ । देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।