गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ५ गते । नेपाल मेडिकल काउन्सिलले डा. मनोजकुमार गुप्तालाई कारबाही गरेको छ ।
काउन्सिलको पूर्ण बैठकले गुप्तालाई छ महिनाका लागि कारबाही गरेको हो । अब गुप्ताले अन्य चिकित्सकको निगरानीमा रहेर मात्र बिरामीको उपचार गर्नु पर्छ । काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले शल्यक्रियामा संलग्न चिकित्सकको बयान तथा विषयविज्ञको रायका आधारमा काउन्सिलले गुप्तालाई कारबाही गर्ने निर्णय गरेको जानकारी दिनुभयो । डा. देवका अनुसार बाराका ३७ वर्षीय सुरेश शाह पित्तथैलीको समस्या भएपछि १४ कात्तिक २०८० मा प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि पुग्नुभएको थियो ।
सो अस्पतालमा कार्यरत डा. गुप्ताले पित्तथैलीको रिपोर्ट नआउँदै शल्यक्रियाको तयारी गर्न निर्देशन दिई शल्यक्रिया गर्नुभएको थियो । शल्यक्रिया गरेर पित्तथैली निकालेपछि परीक्षणका लागि पठाइएको बताउनुभएको थियो । रिपोर्ट उपलब्ध गराइएको थिएन । शल्यक्रियापछि सुरेशको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि परिवारले अन्य अस्पतालमा लगेको थियो । त्यहाँ गरिएको परीक्षणमा पित्तथैलीको उचित परीक्षण नगरी शल्यक्रिया गरिएको र भित्री अङ्गमा क्यान्सर फैलिएको पुष्टि भएको थियो ।
उपचारकै क्रममा सुरेशको २०८१ साउन ३२ मा मृत्यु भएको थियो । डा. गुप्ताको लापर्बाहीका कारण मृत्यु भएको भन्दै परिवारले २०८१ पुस २८ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गरेको थियो । डा. देवले सोही उजुरीका आधारमा अनुसन्धान गर्दै विषयविज्ञको रायका आधारमा कारबाही गरेको जानकारी दिनुभयो ।