• ८ फागुन २०८२, शुक्रबार

सप्तरीमा बालिकाको अपहरणपछि उद्धार, फिरौती माग्ने पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन ८ गते ।
सप्तरीमा बालिकालाई अपहरण गरी फिरौती माग्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अपरणमा परेकी खड्क नगरपालिका वडा नम्बर ८  बिसनपुर निवासी ७ वर्षीय नेहा खातुनको सकुशल उद्धार गरी फिरौती माग्ने सोही नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलका ३० वर्षीय ईम्तियाज अहमदलाई प्रहरीलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट प्रहरी निरीक्षक संजिव बोगटी प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्रप्रसाद यादवको कमाण्डमा खटिएको टोलीले बिहीबार साँझ रुपनी १ स्थित खाँडोबाट ईम्तियाज अहमदलाई नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिनुभयो ।

मङ्गलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि उहाँको परिवारजनले प्रहरीलाई खवर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरी उपरीक्षक केसीकाअनुसार अपहरण गर्ने ईम्तियाजले बिहीबार बालिकाको बुवा इमरान खानलाई फोन गरी फिरौती लिएर रुपनी गाउँपालिका १ स्थित खाँडो खोला बोलाएको थियो ।

नियन्त्रणमा लिईएको ईम्तियाज अहमदलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।