सन्तोष दहित
दाङ, फागुन ८ गते ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङले तुलसीपुर बजार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले गरेको असामाजिक तथा गैरराजनीतिक क्रियाकलापप्रति कडा आपत्ति जनाएको छ।
फागुन ७ गते राति तुलसीपुर बजार क्षेत्रमा एमालेको ‘सूर्य’ अङ्कित झण्डा जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै पार्टीले विज्ञप्ति जारी कडा रूपमा विरोध जनाएको हो ।
एमाले जिल्ला दाङका अध्यक्ष शिवकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा यस्तो घटना देशको लोकतान्त्रिक मूल्य मान्यताविपरीत र जनताको बलिदानबाट प्राप्त राजनीतिक अधिकारमाथि आघात भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको बेला कुनै पनि दल वा स्वतन्त्र उम्मेदवारको झण्डा र चुनाव चिन्ह जलाउने कार्य आचारसंहिता उल्लङ्घन हो र यसले अराजक प्रवृत्तिको प्रसार गर्छ।”
एमालेले रास्वपाका कार्यकर्ता तथा नेतामाथि कानुन बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य, सहिष्णुता र राजनीतिक संस्कृतिलाई कमजोर बनाउने जनाइएको छ। पार्टीले लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता, शान्ति र सुरक्षालाई सबल बनाउने कार्यमा सबै दल जिम्मेवार हुनुपर्ने भन्दै अशालीन गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।
एमालेले जनताको बलिदान र संविधानले स्थापित गरेको स्वतन्त्रता, समानता र सहिष्णुताको सम्मान गर्न सबै राजनीतिक शक्ति सचेत रहनुपर्ने उल्लेख गरेको छ। यता रास्वपाले भने आफ्नो पार्टीको कार्यकर्ताले नभई घुसपैठ गर्नेहरूले एमालेको झण्डमा आगजनी गरेको बताएको छ ।
पार्टीको झण्डा जलाएको प्रति सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि रास्वपाका सभापति विनय घिमिरेले एक विज्ञप्ति जारी गरी उक्त घटना सत्यतथ्य नभएको मिडिया हचुवाको भरमा लेखेको दाबी गर्नुभएको छ । रासस