• ८ फागुन २०८२, शुक्रबार

गुल्मीमा मतदानस्थलमै ‘प्राथमिक उपचार डेस्क’ स्थापना गरिने

blog

रमेश विश्वकर्मा 
गुल्मी, फागुन ८ गते।
गुल्मीमा मतदानस्थलमै ‘प्राथमिक उपचार डेस्क’ स्थापना गरिने भएको छ। यही फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यस जिल्लामा रहेका मतदानस्थलमा ‘प्राथमिक उपचार डेस्क’ स्थापना गर्न लागिएको हो।

मतदानका दिन उत्पन्न हुन सक्ने आकस्मिक स्वास्थ्य समस्याको तत्काल समाधानका लागि स्वास्थ्यकर्मी, आवश्यक औषधी तथा प्राथमिक उपचार सामग्रीसहित १४५ मतदानस्थलका २८४ मतदान केन्द्रमा डेस्क राख्न लागिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार यहाँका सबै स्थानीय तहलाई पत्राचार गरी प्राथमिक उपचार डेस्क स्थापना गरी व्यवस्था मिलाउन आग्रह गरिएको छ। स्थानीय तहअन्तर्गत सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई बढी मतदानस्थलको पहुँचमा रहने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। आपत्कालीन अवस्थामा मतदातालाई छिटो स्वास्थ्य संस्थासम्म पु¥याउनका लागि उक्त तयारी थालिएको उहाँले बताउनुभयो। त्यसैगरी निर्वाचन तयारीका क्रममा जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृत सहितको टोलीले अधिकांश मतदानस्थलको निरीक्षण गर्दै आएको छ।

निरीक्षणका क्रममा कतिपय मतदानस्थलसम्म पुग्ने सडक निर्माणाधीन अवस्थामा रहेकाले फागुन १५ गतेभित्र मुख्य तथा वैकल्पिक सडकमार्ग अवरोधमुक्त राख्न स्थानीय तहलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रले बताउनुभयो। केही मतदानस्थलमा निर्माण सामग्री यत्रतत्र छरिएको पाइएको हुँदा सुरक्षाको दृष्टिले जोखिम न्यूनीकरण गर्न फागुन १५ गतेभित्र उक्त सामग्रीको उचित व्यवस्थापन गर्न भनिएको छ। मतदान व्यवस्थापनका लागि आवश्यक सवारी साधन प्रयोग गर्नुपर्ने भएकाले मतदानका दिन चालकसहित स्थानीय तहका सबै चारपाङ्ग्रे सवारी साधनलाई तयारी अवस्थामा राख्न समेत आग्रह गरिएको छ।

कर्मचारी परिचालन भइसकेपछि मतदान केन्द्र निर्माण तथा व्यवस्थापनमा सहजीकरण गर्न स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकायका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजसँग समन्वय गर्न निर्देशन दिइएको छ। निर्वाचनलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रशासनले स्वास्थ्य सुरक्षा, पूर्वाधार व्यवस्थापन र स्थानीयस्तरको सहकार्यलाई प्राथमिकतामा राखेर तयारी तीव्र पारेको छ।