• ८ फागुन २०८२, शुक्रबार

नेपालगन्ज भन्सारद्धारा सात महिनामा ११ अर्ब चार करोड भन्दा बढी राजस्व संकलन

blog

नेपालगन्ज नाकाको एकिकृत जाँच चौकी (आइसिपी) मा रहेको भन्सार कार्यालय । तस्बिर : सिराज खान ।

सिराज खान

नेपालगन्ज, फागुन ८ गते । पश्चिमका प्रमुख नाकाहरु मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले सात महिनाको अवधीमा ११ अर्ब ४ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । 

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷०८३ को सात महिनामा ११ अर्ब ४ करोड ६५ लाख ८५ हजार रुपियाँ राजस्व संकलन गरेको सो कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । 

उहाँले चालु आवको सात महिनाको अवधीमा गत आवको सात महिनाको तुलनामा नौ करोड २४ लाख रुपियाँ भन्दा बढी राजस्व संकलन भइ राजस्व संकलन बृद्धि हुने क्रममा रहेको बताउनुभयो । 

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सात महिनामा नेपालगन्ज नाकाबाट १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार रुपियाँ राजस्व संकलन भएको थियो । 

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, चालु आवका लागि बार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकोमा पुस मसान्तसम्म सात महिनामा ११ अर्ब चार करोड ६५ लाख ८५ हजार रुपियाँ अर्थात लक्ष्यको ४५ प्रतिशत असुली भएको छ । 

लक्ष्य पुरा गर्नका लागि बाँकी रहेका पाँच महिनामा ५५ प्रतिशत राजस्व संकलन गर्नु पर्ने देखिएकोले यो वर्ष पनि लक्ष्य पुरा नहुने संकेत देखिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलले बताउनुभयो । 

उहाँले भन्सार कार्यालयको मासिक लक्ष्य अुनसार हालसम्म कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन नभएको देखिएको छ ।चालु आवको साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस र माघ महिनामा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत मात्र राजस्व असुली भएको छ । 

गत आर्थिक वर्ष २०८१÷०८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो  भने त्यसको अघिल्लो आर्थिक २०८०÷०८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन गरेको थियो । 

नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात निर्यात बृद्धि भइ भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिएपनि केही वर्ष यता लक्ष्य पुरा हुन नसकेको भन्सार कार्यालयले जनाएको छ । 

अर्कोतर्फ नेपालगन्ज भन्सारबाट हुने व्यापार घाटा पनि अतिनै उच्च रहेको पाईएको छ । आयात–निर्यातको अनुपातमा निकै ठूलो फरक देखिंदै आएको छ  ।