काठमाडौँ, मङ्सिर ८ गते । ग्लोबल एएमआर मिडिया अलायन्सको नेपाल च्याप्टर गठन गरिएको छ।
नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी सचेतना बढाउने र तथ्यमा आधारित विश्वसनीय पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल एएमआर मिडिया अलायन्सको नेपाल च्याप्टर गठन गरिएको हो ।
ग्लोबल एएमआर मिडिया अलायन्स, विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य पत्रकार मञ्च नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ग्लोबल एएमआर मिडिया अलायन्स एशिया प्यासिफिक क्षेत्रकी अध्यक्ष कल्पना आचार्यले नेपाल च्याप्टरको घोषणा गर्नुभएको हो ।
बढ्दो एएमआर समस्यालाई कम गर्न मिडियाको भूमिकालाई निर्णायक भन्दै नेपालमा पनि एकीकृत मिडिया अभियान आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘एएमआर जनस्वास्थ्यका लागि मौन महामारी बनेर फैलिँदै गएको छ। तथ्यमा आधारित पत्रकारितामार्फत जनमानसमा सचेतना बढाउन र नीति निर्माणमा दबाब सिर्जना गर्न नेपाल च्याप्टर महत्वपूर्ण मञ्च बन्नेछ ।’
उहाँले एएमआर आफैमा प्राविधिक र जटिल विषय भएकाले यसलाई सरलीकृत बनाउँदै सही सूचना दिन पत्रकारको क्षमता अभिवृद्धि तथा तालिम समेतको आयोजना गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवले एएमआरको बारेमा जनमानसमा बुझाई कम रहेको र यसबारे बुझाउन र उनीहरुलाई सचेत बनाउने काममा मिडियाकर्मीको ठूलो भूमिका हुने बताउनुभयो ।
यसैगरी, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष भिषा काफ्लेले मिडियाकर्मी आफै नै एएमआरको बारेमा कम जानकार भएको भन्दै यस विषयमा मिडियाकर्मीलाई पनि तालिमहरुको आवश्यकता औँल्याउनुभयो ।
नेपाल च्याप्टरको घोषणासँगै आगामी वर्षदेखि एएमआरबारे उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई २० हजार अक्षरुपी राशी सहित ‘नेपाल एएमआर मिडिया अवार्ड’ प्रदान गरिनेछ ।
उक्त अवार्डले एएमआरका क्षेत्रमा अनुसन्धानात्मक, तथ्यपरक तथा प्रभावशाली सामग्री उत्पादन गर्ने पत्रकारलाई सम्मान गर्नेछ।
यो अवार्ड विश्व एएमआर सचेतना सप्ताहको अवसर पारेर दिइनेछ। अवार्डको आवेदन प्रक्रिया, मूल्याङ्कन मानक र छनोट विधिबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने नेपाल च्याप्टरकी अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
ग्लोबल एएमआर मिडिया अलायन्स विश्व भरका मिडियाकर्मीको साझा नेटवर्क हो जसले एएमआरका विषयमा पैरवी र खबरदारी गर्दै कलम चलाउने गर्छन ।
यो नेटवर्कमा विश्वका ५७ देशका ४ सय बढी पत्रकार आवद्ध छन् ।यसले हरेक वर्ष ग्लोबल एएमआर मिडिया अवार्ड प्रदान गर्ने गर्छ ।
जसमा विश्वभरका पत्रकारले आवेदन दिन सक्छन् ।योबाहेक आगामी वर्षदेखि नेपाल च्याप्टरले नेपालका लागि छुट्टै मिडिया अवार्डको घोषणा गरेको हो ।