• ८ मंसिर २०८२, सोमबार

पर्यटकीय गन्तव्य बन्दै ‘रानीघाट’ (फोटो फिचर)

blog

रानीघाट पिकनिक पार्कमा रमाइलो गर्दै आन्तरिक पर्यटक । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर ८ गते । बाँकेको कोहलपुरस्थित चप्परगौडी बजारको दक्षिणतर्फ करिब ५ किलोमिटरको दूरीमा रहेको रानीघाट पर्यटकको गन्तव्यको रुपमा विकास भइरहेको छ । 

कोहलपुर –१३ खड्गवारस्थित बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने रानीघाट मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले पिकनिक पार्क सञ्चालनमा ल्याएको छ । उक्त पिकनिक पार्क पछिल्लो समय बाँकेकै नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको हो । 

पछिल्लो समय आन्तरिक पर्यटकहरुको प्रमुख रोजाइको केन्द्र बनेको स्थानीयको बुझाइ छ । जहाँ दैनिक सयाँै आन्तरिक पर्यटकहरु घुम्न, रमाइलो गर्न र पिकनिकका लागि त्यहाँ पुग्ने गर्दछन् । 

नयाँ पर्यटकीय गन्तव्यका रुपमा उदाउँदै गरेको ‘रानीघाट’ सोही सामुदायिक वन क्षेत्रका उपभोक्ताहरुको अगुवाइमा विकास गरिँदैछ । रानीघाट पिकनिक पार्क व्यवस्थापन र सञ्चालनका लागि समूहका अध्यक्षको नेतृत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । 

समितिकै अगुवाइमा रानीघाटलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले दुई वर्षअघि रानीघाट पार्क व्यवस्थापन समिति निर्माण गरिएको थियो । समितिले नै अहिले रानीघाट पार्कको सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ । रानीघाट पार्क ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । 


बाँकेसहित बर्दिया, सुर्खेत, दाङ लगायतका जिल्लाबाट पर्यटकहरु आउनेगरेको रानीघाट पार्क व्यवस्थापन समितिका पदाधिकारीहरुको भनाइ छ । शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिनमा सबैभन्दा धेरै पर्यटकहरुको घुइँचो लाग्नेगरेको रानीघाट पार्क व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार वलीले बताउनुभयो । 

उपभोक्ता समूह २०५५ सालमा स्थापना गरिएको र २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह बनेको उहाँले बताउनुभयो । 

“हामीले पिकनिक पार्क २०७९ सालबाट सञ्चालनमा ल्यायौँ, बाँके राष्ट्रिय निकुञ्जबाट ५ वर्षका लागि अनुमति लिएर सञ्चालन गरिरहेका छौँ, पछिल्ला समयमा अत्यन्त भिड हुनेगरेको छ, घुमघाम र पिकनिकका लागि नयाँ ठाउँहरुबाट पर्यटक आउन थालेपछि पार्क व्यवस्थापन समितिले सुविधाहरु थप्ने काम गरिरहेको छ” अध्यक्ष वलीले भन्नुभयो, “कात्तिक २२ गते मात्र अहिलेसम्मकै सबैभन्दा धेरै ५४ वटासम्म समूह पिकनिकका लागि आउनुभयो, हरेक दिन ५–७ वटा समूहहरु आउँछन्, हामीले पार्कमा फ्री वाइफाइ, विद्युत्, खानेपानी (अटोमेटिक बोरिङ), शौचालय, पिङ, मचान, घरटहरा, दाउरा लगायतका आवश्यक सबै पूर्वाधारहरु निर्माण गरेका छौँ ।”


उहाँले पार्कमा पिकनिक गर्न आउने समूहहरुबाट शुल्क लिइने र केही व्यक्तिहरुलाई रोजगारीको समेत व्यवस्थापन गरेको बताउनुभयो । “हामीले ठाउँ र सुविधाअनुसार पिकनिक आउने समूहसँग एक हजार, पाँचसय र तीनसय रुपियाँ शुल्क लिने गरेका छौँ, यो शुल्क वन उपभोक्ता समूहको आम्दानीको स्रोत हो, एक जना स्थायी रुपमा चौकीदार र हरेक दिन सरसफाइका लागि १० जना व्यक्तिहरुले रोजगारीसमेत पाउनुभएको छ” उहाँले भन्नुभयो । 

पार्कलाई दुई भागमा विभाजन गरिएको छ । एउटा भागमा पिकनिक क्षेत्र छुट्याइएको छ । जहाँ पिकनिकदेखि फोटो सेसन, रमाइलो गर्ने र गर्मी र पानीबाट बच्न टिनका पाताले छाएका घरहरु छन् । पर्यटकहरुका लागि थारु संस्कृतिसँग आधारित मचान निर्माण गरिएको छ । 


अर्को क्षेत्रमा गार्डेन निर्माण गरिएको छ । नजिकै रानीघाट खोलासमेत रहेको छ । उक्त खोलाले झन रमणीय वातावरण बनाएको छ । खोलामा प्रशस्त माछाहरु रहेका छन् । त्यहाँ माछा मार्न भने पाइँदैन । पौडी खेल्न र माछाहरुको दृश्यावलोकन गर्न सकिन्छ । 

नजिकैको रानीघाट खोलाबाट पिकनिक पार्कलाई कटानबाट जोगाउनका लागि गत आवमा लुम्बिनी प्रदेश सरकारले १० लाख रुपियाँ र कोहलपुर नगरपालिकाले ५ लाख रुपियाँ बजेट छुट्याएको अध्यक्ष वलीले जानकारी दिनुभयो । पार्क व्यवस्थापन समितिले पिकनिक गर्न आउने समूहबाहेक अन्य प्रत्येक व्यक्तिसँग २० रुपियाँ प्रवेश शुल्क लिने गरेको छ ।