• १९ असोज २०८१, शनिबार

मेची राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई समस्या

blog

इलामको माइखोलामाथिको खण्ड अवरुद्ध भएपछि झापा लग्न लागिएको विरामी स्ट्रेचरको सहायतामा माइखोलाको पुलमाथि एम्बुलेन्समा हालिंदै । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज १९ गते । मर्मत गर्ने क्रममा शुक्रबार दिउँसोदेखि मेची राजमार्ग अन्तर्गत इलामको माइखोलामाथिको खण्ड अवरुद्ध भएपछि यात्रुले सास्ती व्यहोर्नु परेको छ । विशेषगरी विरामी, ज्येष्ठनागरिक र अपाङता भएका व्यक्तिलाई राजमार्गको यो स्थान अवरुद्ध हुँदा समस्या भएको हो । 

इलामबाट झापा जाने र इलाम अस्पतालबाट झापा रेफर गरिएका विरामीलाई स्ट्रेचरमा बोकेर यो सडक खण्ड पार गराउनुपर्ने बाध्यता भएको स्थानीयको भनाइ छ  । ताप्लेजुङ, पाँचथर र इलामको आधाभन्दा बढी भागलाई यो राजमार्ग जीवन मार्गजस्तै बनेको थियो । अहिले झापाबाट ताप्लेजुङ्गसम्म हिंडेका यात्रुहरु माइखोलादेखि भारी बोकेर इलामतर्फको भागमा जान बाध्य छन् । 

केही साना सवारीले भने इलाम तिल्केनी हुँदै नामसालिङ, गुप्ती, फिक्कल सडक भएर यात्रा तय गरिरहेका छन् । मर्मत सुरु गरिएको स्थानमा भने विहान उज्यालो हुँदैदेखि काम मर्मतको काम भइरहेको छ । सडक डिभिजन कार्यालय इलामले मर्मत थालेको उक्त स्थालमा सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि मर्मतमा जुटेको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले भोलिसम्ममा मर्मतको काम सक्ने बताउनुभयो । 

मर्मत सुरु गरेभन्दामाथिको सडक धस्सिएको छ । बर्षौंदेखि भएका मर्मतले कुनै काम नगरेको यो सडक खण्डमा अब पनि मर्मत होला र पुरानै ढंगले सवारी चलाउन सकिएला भन्नेमा यातायात व्यवसायी र स्थानीय भने ढुक्क छैनन् । यस पटक पनि माथिदेखिको जमिन धस्सिन थालेपछि मर्मत सकिए पनि सहज रुपमा सवारी चलाउन भने ढुक्क नदेखिएको यातायात व्यवसायीको भनाइ छ ।