• १९ असोज २०८१, शनिबार

मन्त्री पाण्डेको पहलपछि क्याबिन क्रु आन्दोलन फिर्ता

blog

काठमाडौँ,  असोज १९ गते । नेपाल एयरलाइन्सका  क्याबिन क्रु (विमान परिचारक र परिचारिका) आन्दोलन फिर्ता लिन सहमत भएका छन् । 

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रु जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन । 

४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक र परिचारिका) हड्तालमा उत्रिएपछि  मन्त्री पाण्डेले  आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गर्नु भएको थियो । 

छलफलपछि नेपाल एयरलाइन्स ४५ वर्षको उमेर हद हेरफेर गर्न सकारात्मक भएको छ । 

त्यसका लागि विनियमावली परिवर्तन विषय प्रक्रियामा लाने सहमति भएको छ भने सर्वोच्च अदालतमा विचाराधीन मुद्‍दामा र दुई पटक भएको अन्तरिम आदेशको विषयमा  महान्यायाधिवक्तासँग छलफल गर्न दुईपक्ष सहमत भएका छन् । 

आन्दोलन फिर्तासँगै विमान परिचारिका एवम् परिचालकले आजैबाट काममा फर्किएका छन् ।  निगममा कार्यरत परिचारिका र परिचारकको संस्था नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।