• १९ असोज २०८१, शनिबार

शक्तिपीठ मत्सरी दुर्गा मन्दिर

blog

मिथिलामा शक्तिको महत्त्व बढी छ । सम्भवतः माता जानकीको माइती भएका कारणले पनि यस्तो हुन सक्छ । माता काली र माता दुर्गाका भक्त यहाँ बढी छन् । यस क्षेत्रमा दुर्गा पूजा शास्त्र एवं विधिसम्मत तरिकाले निष्ठापूर्वक गरिन्छ । दुर्गा पूजाप्रति दिनानुदिन आस्था बढ्दै गएको पाइन्छ । मिथिला क्षेत्रमा कतिपय यस्ता ठाउँ छन्, जो माता दुर्गाको पूजाका लागि ख्यातिप्राप्त छन् । यस्तै सिद्धि प्राप्त दुर्गा मन्दिर, रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका–३ स्थित मत्सरीमा रहेको छ । यस मन्दिरमा दैनिक रूपमा बिहान र बेलुका पूजा र स्तुति गरिन्छ । स्तुति वाचनमा दैनिक रूपमा ५० देखि सयको सङ्ख्यामा श्रद्धालु भक्तजन र मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य ३६५ दिन नै सहभागी हुन्छन् । शरदकालीन दुर्गा पूजा बढी भव्यताका साथ मनाइन्छ । वासन्तीय नवरात्रिको पुजन पनि निकै निष्ठा एवं उत्साहपूर्वक गरिन्छ । भक्तको भाकल पूरा हुने, निःसन्तानले सन्तान पाउने, सुपुत्री मात्र भएकाले सुपुत्र पाउन सक्नेलगायतका मान्यताका कारण यस मन्दिरको ख्याति रौतहट र वरिपरिका जिल्ला सर्लाही, बारा र पर्सासम्म तथा सिमाना पारि भारतका पूर्वी चम्पारण, सीतामढी, मुजफ्फरपुर र मधुवनी जिल्लासम्म रहेको छ । ती ठाउँबाट पनि श्रद्धालु दुर्गा मन्दिरको पूजामा सहभागी हुन यहाँ आउँछन् । मत्सरीको दुर्गा मन्दिरलाई शक्तिपीठका रूपमा विश्वास गर्ने भक्तजन पनि लाखौँको सङ्ख्यामा छन् ।

‘नवदुर्गा बुद्धिजीवी सदन’ रौतहटद्वारा प्रकाशित र शिक्षाविद् स्व. रुद्रनारायण झाद्वारा सम्पादित त्रिनेत्र पुस्तकमा ‘दुर्गा मन्दिर’ गाथा शीर्षकमा उल्लेख भए बमोजिम मत्सरीमा रहेको संस्कृति पाठशालाका एक शिक्षक पण्डित महानन्द झा जो धनुषा जिल्लाका देवडिहा निवासी हुनुहुन्थ्यो, उहाँ स्वयम् शक्ति     (माता दुर्गा) को उपासक हुनुहुन्थ्यो । मत्सरीवासीको हिन्दु धर्म संस्कृतिप्रति गहिरो आकर्षण एवं निष्ठाबाट उहाँ निकै प्रभावित हुनुहुन्थ्यो । उहाँले मत्सरी जस्तो गाउँमा विधि विधानपूर्वक दुर्गा पूजाको आरम्भ हुनुपर्दछ भन्ने सुझाव र सल्लाह गाउँघरका भद्र भलाद्मीलाई दिनुहुन्थ्यो । मत्सरीमा दुर्गा पूजा हुनुपर्दछ भन्ने चाहना स्थानीयवासीको पनि थियो । गाउँका धनी जमिन्दार पण्डित सर्वजीत झालाई तत्कालीन राणा सरकारले सेठजीको उपाधि दिएका थिए । उहाँ प्रत्येक वर्ष मधुवनीको अन्धराठाढीमा दसैँमा (दुर्गा पूजामा) सहभागी हुने गर्नुहुन्थ्यो । आफ्नी छोरी ज्वाइँको गाउँको पूजापाठबाट निकै प्रभावित पण्डित सर्वजित झाले आफ्नै गाउँमा दुर्गा पूजाको आयोजना गर्ने निश्चय गर्नुभयो । पण्डित महानन्द झाको निरन्तरको आग्रह र पण्डित सर्वजित झा स्वयम् पनि शक्तिका उपासक भएकाले मत्सरीमा नियमित रूपमा दुर्गा पूजाको आयोजनाका लागि विसं १९८४ मा गाउँको भेला बोलाइयो । भेलामा मत्सरीका सबै परिवारका घरमूली र सदस्यको समुपस्थितिमा ‘दुर्गा पूजनोत्सव’ सामाजिक उत्सवका रूपमा निष्ठापूर्वक एवं हर्ष उल्लासका साथ मनाउने निर्णय गरियो ।

पण्डित सर्वजित झाले सम्पूर्ण लागत खर्चको २५ प्रतिशत तथा पण्डित माधव झा र पण्डित साधव झाले संयुक्त रूपमा २५ प्रतिशत खर्च दिने तथा बाँकी ५० प्रतिशत रकम गाउँवासीले दिने सहमति भयो । आर्थिक क्षमता नभएकाले आफ्नो अनुकूलता अनुसार श्रमदान गरी सहयोग दिने सहमति भयो । ‘दुर्गा पूजनोत्सव’ को व्यवस्थापनको अभिभारा पण्डित सर्युग झा, पण्डित वैद्यनाथ झा, पण्डित शक्तिनाथ ठाकुर, पण्डित अच्छेलाल झा र पण्डित मुरलीधर ठाकुरलाई दिने सहमति भयो । पुरोहितको काम पण्डित प्रभुनाथ झा, पुजारीको कार्य पण्डित मोहन मिश्र र बलि प्रदान व्यवस्थापनको जिम्मा अयोध्या भगतलाई दिइयो । मूर्ति निर्माणको कार्य कालिगड दरभङ्गा शशीपुरका पण्डित गङ्गाधर झालाई जिम्मेवारी दिने सहमति भयो । मन्दिरको पक्की घरको निर्माण नहुन्जेलसम्म पण्डित उमाकान्त झाको जग्गामा मन्दिरको घर निर्माण हुने सहमति भयो । झन्डै सय (९८) वर्ष अघि बनेका सहमतिले कतिपय विषयमा अहिलेसम्म नै निरन्तरता पाएको देखिन्छ । पूजनोत्सवको खर्च सबै गाउँवासीले मिलेर बेहोरिरहेका छन् । कालिगड अहिले पनि मधुवनीकै अन्धराठाडीबाट आउने गर्छन् । बलि प्रथाले निरन्तरता पाएको छ र बर्सेनि साढे दुई हजार जति खसीबोकाको बलि प्रदान गरिन्छ । प्रत्येक वर्ष मन्दिर व्यवस्थापन समितिको निर्वाचन आमसहमतिमार्फत हुने गर्छ । आर्थिक कारोबार पारदर्शी हुन्छ । विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापनको कार्यलाई पूर्णता प्रदान गरिन्छ । मन्दिर प्रवेशमा कसैलाई पनि रोक छैन ।

वर्तमान अवस्थामा मन्दिरको भौतिक संरचनाले धेरै हदसम्म पूर्णता प्राप्त गरेको छ । मन्दिर परिसरमा श्री गणेश, श्री हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ भने शिवलिङ्गको पनि प्राण प्रतिष्ठा गरिएको छ । त्यसबाहेक ग्रामदेवता, ब्रह्मदेवता र भगवतीको मन्दिर पनि बनाइएको छ । यहाँ दैनिक रूपमा जलाभिषेक तथा पूजाअर्चना गरिन्छ । ग्रामवासीको प्रत्येक दिनको शुभारम्भ दुर्गा मन्दिरको दर्शन र मन्दिर परिसरको परिक्रमाबाट हुन्छ । मन्दिर परिसरमा एउटा यज्ञमण्डप पनि छ । जहाँ जोकोहीले पनि यज्ञ, अनुष्ठान, व्रतबन्ध, मुण्डन संस्कार, सत्यनारायण भगवान्को पूजन र शुभ विवाहसमेत निःशुल्क गर्न सक्छन् । मन्दिर परिसरमै पाँच सय व्यक्ति अटाउन सक्ने एउटा वातानुकूलित (एसी) कोठा र एउटा धर्मशाला पनि रहेको छ ।

बाहिरबाट आउने कालिगड शुद्धता र पवित्रतालाई हृदयङ्गम गरी असोज कृष्ण प्रतिपदा तिथिदेखि मूर्ति निर्माणको काम सुरु गर्छन् । दुर्गा पूजामा माता दुर्गा, माता लक्ष्मी, माता सरस्वती, माता पार्वती, गणेश, शङ्कर र कार्तिकेय भगवान्को माटोको मूर्ति प्रतिस्थापित गरिन्छ । शङ्कर भगवान् आफ्नो सवारी बसाहामा विराजमान देखिन्छन्, जबकि दुर्गा माता सिंहमा, माता सरस्वती हंसमा, माता लक्ष्मी कमल पुष्पमा विराजमान देखिनुहुन्छ । रेमन्त भगवान्को सवारी घोडा र कार्तिकेय भगवान् आफ्नो सवारी मयूरमा सवार देखिन्छन् । विघ्नकर्ता भगवान् गणेशको छेउमै मुसाको मूर्ति पनि राखिएको हुन्छ । मूर्ति यति बढी आकर्षक, चम्किला हुन्छन् कि अब केही बोलिदेलान् कि ? जस्तो अनुभूति हुन्छ । पौराणिक र तान्त्रिक महत्वलाई ध्यानमा राखी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्ने विजयादशमी मनाउने शास्त्रीय विधान पनि छ । 

शारदीय नवरात्रिको पहिलो दिन घटस्थापना गरी मनाइन्छ । दुर्गा मन्दिरमा मात्रै होइन, मत्सरीका प्रत्येक व्यक्ति ब्राह्मण र गैरब्राह्मण पनि आआफ्नो घरमा जमरा राख्ने गर्छन् । सम्भव भएसम्म पण्डितको सहयोगद्वारा र त्यो सम्भव नभए आफैँले पनि पूजा गरी घटस्थापना गर्छन् । प्रतिपदाका दिन घटस्थापना, दुर्गा पूजनोत्सव, शैलपुत्री दर्शन, कुमारी पूजन र आरती स्तुति हुने गर्छ । द्वितिया तिथिका दिन भगवती पूजन ब्रह्मचारिणी देवी दर्शन, रेमन्त पूजा, कुमारी पूजन र आरती स्तुति हुने गर्छ । तृतीया तिथिका दिन भगवती पूजन, चन्द्रघण्टा देवी दर्शन, कुमारी पूजा र आरती स्तुति हुने गर्छ । चतुर्थी तिथिमा भगवती पूजन, कुष्माण्डा देवी दर्शन, गणेश पूजन, कुमारी पूजन र आरती पूजन तथा पञ्चमी तिथिका दिन भगवती पूजन, स्कन्दमाता दर्शन गरिन्छ ।

षष्ठी तिथिका दिन भगवती पूजन, कात्यायनी माता दर्शन, गजपूजा, कुमारी पूजन, आरती स्तुति (विल्व निमन्त्रण) सप्तमी तिथिका दिन, प्रातः समय विल्ववृक्ष पूजन तत्पश्चात् नवपत्रिका प्रवेश, भगवती पूजन, कालरात्रि देवी दर्शन, सरस्वती पूजन, विषहारामनसा देव्या पूजन, कुमारी पूजन, भगवतीका लागि छागबलिदान, आरती स्तुति अष्टमी तिथिका दिन भगवती पूजन, महागौरी देवी दर्शन, कुमारी पूजन, भगवती वास्ते छाग बलिदान, आरती स्तुति, मध्यरात्रि निशा पूजा, पूजा उपरान्त बलिदान, आरती स्तुति, नवमी तिथिका दिन भगवती पूजन सिद्धिदात्री देवी दर्शन, त्रिशूलिनी पूजन, विषहारा मनसाँढे पूजन, कुमारी पूजन, बलिदान, आरती स्तुति र विजया दशमीका दिन भगवती पूजन, आरती स्तुति विसर्जन, जयन्ती धारणम् र अपराजिता पूजन हुने गर्छ । कालरात्रि अर्थात् निशा पूजाका दिन कुनै महिलाले रातभरि मन्दिर परिसरमा ननिदाइकन निष्ठापूर्वक पूजा दर्शन गरेमा सन्तान र पुत्रको प्राप्ति हुने जनविश्वास छ । पूर्णिमा (कोजाग्रत पूजा) पछि मूर्तिलाई नजिकको बागमती नदीमा विसर्जित गरिन्छ । 

दसैँमा पूजा अर्थात् विधि विधानपूर्वक गरिन्छ, अब यसमा आधुनिकताले पनि धेरै स्थान ओगटेको छ । केही वर्षदेखि षष्ठीका दिन निमन्त्रणाका लागि यात्रा जाने क्रममा मन्दिरमा हेलिकोप्टरमार्फत पुष्प वर्षा गराइन्छ । ड्रोन क्यामरामार्फत फोटोग्राफी गरिन्छ । आजभन्दा केही वर्षअघिसम्म डेढ–दुई दर्जन हात्ती र घोडा पनि यात्रामा सहभागी गराइन्थे जो घटेर अब साङ्केतिक रूपमा मात्रै आउने गर्दछ । यात्रामा सहभागी हुनेहरू १० हजारको सङ्ख्यामा हुन्छन् ।

दुर्गा पूजामा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिन्छ । विगतका दिनमा गाउँका युवा विभिन्न किसिमका सामाजिक र धार्मिक कथामा आधारित नाटकको प्रदर्शन गरी आफ्नो कलाको प्रदर्शन गर्दथे भने समय समयमा धार्मिक प्रवचन पनि हुने गर्छ । वासन्तीय नवरात्रिमा त केवल धार्मिक प्रवचन मात्रै हुन्छ । अहिले १० लाख रुपियाँ जति खर्च गरेर नाच प्रदर्शन गराइन्छ । नाच र नाटकले मेलाको आकर्षण बढाउँछ । विजयादशमीका दिन अत्यधिक भिडका कारण दुर्गा भगवती गाउँपालिकाभरि नै बाटो हिँड्न गाह्रो हुन्छ । मत्सरीको दुर्गा मन्दिरमा दैनिक रूपमा दर्शन गर्नेहरू १० हजारदेखि ५० हजारसम्म हुन्छन् । मधेश प्रदेशमा एउटा शक्तिपीठका रूपमा मत्सरीको दुर्गा मन्दिर स्थापित रहेको मान्न सकिन्छ । मत्सरी दुर्गा मन्दिरका संयोजक अभिषेककुमार झा (बब्लु) ले विगतका वर्षझैँ यस वर्ष पनि शान्तिसुरक्षा, प्राथमिक स्वास्थ्य उपचार र निःशुल्क पानीको व्यवस्थाका साथै मन्दिरमा दर्शनका लागि स्वयंसेवकको पनि पर्याप्त व्यवस्था गरिएको बताउनुभयो ।  

Author

श्रीमननारायण